काठमाडौँ- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका छन्।
बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा महरले संविधान, ऐन कानुनभन्दा माथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताए।
उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरुको प्रश्न रहेको बताए। निरन्तरतामा क्रमभंगताका नाममा प्रचलित सबै अभ्यास र कानुनहरुलाई नजरअन्दाज गरेर फरक ढंगले प्रधानमन्त्री अघि बढ्न खोजेको उहाले आरोप लगाए।
उनले सदनलाई सरकारको छायाजस्तो गरी सभामुखको कार्यशैलि उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध जनाएको धारणा राखे। सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरुको रहर नभएको उनको भनाइ छ।
उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे।
उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए।




