काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा नेकपा एमाले संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो अधिकारको दुरुपयोग गर्दै अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका हुन्।
अराजकता केही दिनको पाहुना मात्रै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लामो समय नचल्ने दाबी गरे। उनले समय र परिस्थिति सधैँ एउटै नरहने भएकाले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिलाई समेत संयमित हुन सुझाव दिए।
उनले भदौ २३ र २४ गते भएको आगजनीलगायत उपद्रो मच्चाउनेहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरे।
अध्यक्ष ओलीले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति देशद्रोही भएको बताए। सीमाबारे दुई देशबीचकोे कुरामा अर्को देशलाई तान्ने विषय अकूटनीतिक भएको उहाको भनाइ छ। भारतको एक इन्च पनि जमिन नमिचेको भन्दै ओलीले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको जिकिर गरे।
‘धेरै ठाउँमा होइन, एक ठाउँमा पनि नेपालले भारतको एक इन्च जमिन मिचेको छैन,’ ओलीले भने,‘सम्पूर्ण रुपमा झुट, असत्य राष्ट्रघाती बोल्छन् प्रधानमन्त्रीले संसदको रोष्टमबाट, बोल्न हुँदैन थियो तर त्यहाँ बोल्ने काम भयो। कसको हितका लागि? कसको पक्षमा? यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा कसको पक्षमा के का लागि बोलियो? प्रधानमन्त्री त्यसदिन न कार्यक्रम न प्रश्नोत्तर, न नियमावलीअनुसारको कुनै कुरा अनि गएर अचानक के सन्देश दिन खोजेको? कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी ठाउँनै हुँदैन। तैपनि कतिपय मान्छेहरु अचम्म लाग्छ समर्थन गरेका छन् यिनीहरूको। यस्तो देशद्रोही कुराको समर्थन गर्ने मान्छे भातबाहेक के हुन्छ?’
उनले पार्टीभित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास, नयाँ जोश र नयाँ जागरका साथ पार्टीलाई अघि बढाइने बताए। अध्यक्ष ओलीले पार्टीभित्र अहिले व्यापक एकता चाहिएकाले पार्टी विरुद्ध भ्रम फिँजाउने काम बन्द गर्न निर्देशन दिए।
उनले एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउँदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताए। अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।




