काठमाडौँ- नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ, राष्ट्रिय समितिले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा असहमति जनाएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै महासंघले शिक्षकको तलब वृद्धिको प्रस्तावलाई सकारात्मक रूपमा स्वागत गरेको छ। महँगी भत्तासँगै गरिएको तलब वृद्धि र प्रोत्साहन भत्ताको व्यवस्थालाई महासंघले स्वागतयोग्य भनेको छ।
महासंघले बजेटले विद्यालय शिक्षाका आधारभूत समस्या समाधानमा कुनै ठोस पहल नगरेको आरोप लगाएको छ। निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता विपरीत विद्यालय शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको पनि महासंघले बताएको छ।
वर्षौंदेखि समाधान हुन नसकेका राहत तथा अस्थायी प्रकृतिका शिक्षक कर्मचारीका समस्याप्रति बजेट मौन रहेको महासंघको भनाइ छ।
योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था, न्यून वैतनिक करार शिक्षक, ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीका विषयमा पनि कुनै सम्बोधन नभएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले गत वर्षको बजेटमा समावेश गरिएका अस्थायी शिक्षकसम्बन्धी केही प्रस्तावहरू समेत हटाइएकामा आपत्ति जनाएको छ।
महासंघले प्रारम्भिक रूपमा बजेट वक्तव्यप्रति गम्भीर असहमति जनाउँदै सरकारसँग आफ्ना मागहरू समेटेर बजेट संशोधन गर्न आग्रह गरेको छ।
देशभरका शिक्षकहरूलाई बजेटको विस्तृत अध्ययन गरी साझा धारणा बनाउन पनि आग्रह गरिएको छ।




