एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षलाई उपेक्षा गर्दै एकपक्षीय रुपमा सभा सञ्चालन गर्न खोज्दा संसदमा गतिरोध सिर्जना भएको आरोप लगाएका छन्।
सभामुखले संसद् नियमावलीको पालना नगर्नुका साथै प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिँदा हालको असाममान्य परिस्थित सिर्जना भएको उनले बताएका हुन्।
महासचिव पोखरेलले संसद्मा उत्पन्न परिस्थिति सिर्जना छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले बनाएको समितिप्रति पनि उनले आपत्ति जनाएका छन्।
संसद् सचिवालयका कर्मचारीहरू सम्मिलित ‘प्रशासनिक समिति’ गठन गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले यसको समाधान राजनीतिक र संसदीय प्रक्रियाबाटै खोजिनुपर्ने जिकिर गरेका छन्।
पोखरेलले प्रशासनिक तहबाट गरिने छानबिनले संसद्को गरिमा र वर्तमान समस्याको वास्तविक समाधान नदिने उनको भनाइ छ।
‘सभामुख मातहतकै कर्मचारीहरू राखेर गरिने छानबिन निष्पक्ष हुन सक्दैन। यसले संसद्लाई मर्यादित, निष्पक्ष एवं सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन सक्दैन, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
पोखरेलले संसदको गरिमा जोगाउन पनि यस घटनाको छानिबिन अधिकारसम्पन्न संसदीयमार्फत हुनुपर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,‘सभामुखको मातहतका कर्मचारीहरू राखेर गरिने प्रशासनिक छानबिनले संसदलाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन सक्दैन। यस विषयमा सभामुख र सिंगो सभामुखको ध्यान जान जरुरी छ।’
पोखरेलले संसद्मा प्रतिपक्षी दलहरूको भावनालाई बेवास्ता गर्दै आक्रोश झनै बढ्नसक्ने चेतावनी दिएका छन्।




