सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ।
नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो। दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्यांकन १९ लाख ६० हजार रूपैयाँ कायम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ।




