ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

हिमाल प्रेस १८ जेठ २०८३ २१:०६ | Monday, June 1, 2026
14
SHARES
ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ- सशस्त्र प्रहरी बलले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले काभ्र पनौती–५ घर भई भक्तपुर कटुन्जे बस्ने ४१ वर्षीय विरध्वज तामाङ र काभ्रेकै कोशीपारी–१ घर भई ललितपुरको हरिसिद्धी बस्ने ३८ वर्षीय सान्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट प्रहरीले २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) ‘ट्रामोल–५०’ नामक प्रतिबन्धित औषधि बरामद भएको सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्रिएको विशेष सूचना पाएपछि इन्टेलिजेन्स ब्युरोले सुराकीका आधारमा पिछा गरेको थियो। सशस्त्र प्रहरीका अनुसार सुरुमा कलंकीबाट विरध्वजले लागुऔषध ललितपुरको चंगाथली पुर्‍याएका थिए।

त्यसपछि जेठ १२ गते राति करिब साढे २ बजे भक्तपुरको मध्यपुर थिमी–६ बाट सशस्त्र प्रहरीले विरध्वजलाई नियन्त्रणमा लिएको थियो। उनको बयानका आधारमा प्रहरीले ललितपुरको गोदाबरी नगरपालिका–२ बिशंखुनारायण मन्दिरबाट कोटाडाँडा जाने सडक छेउमा ६ वटा बोरा र दुईवटा चाउचाउको कार्टुनमा लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद गरेको थियो।

विरध्वजले दिएको सूचनाका आधारमा लागुऔषध ओसारपोसर र लुकाउन सहयोग गर्ने ट्याक्सी चालक सान्तबहादुरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले लागुऔषध केहीदिन हरिसिद्धीमा राखेर ट्याक्सीमार्फत बरामद भएको ठाउँसम्म पुर्‍याएका थिए।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेठ २०८३ २१:०६ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast