बालेनको सीमासम्बन्धी अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

हिमाल प्रेस १७ जेठ २०८३ १७:३८ | Sunday, May 31, 2026
4
SHARES
बालेनको सीमासम्बन्धी अभिव्यक्तिप्रति कमल थापाको आपत्ति कमल थापा। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइलाई अतिरञ्जित, गलत र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसप्रति राजनीतिक प्रतिक्रिया आउन थालेको छ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीको उक्त भनाइले सिंगो मुलुकलाई तरंगित र आश्चर्यचकित बनाएको उल्लेख गरेका छन्।

थापाले केही स्थानमा नेपाल–भारतबीच सीमा विवाद हुनु र नेपालले भारतको भूमि अतिक्रमण गरेको दाबी गर्नु फरक विषय भएको उल्लेख गर्दै नेपालले भारतको सीमा नमिचेको जिकिर गरेका छन्।

‘नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ’, थापाले भनेका छन्। उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति तत्काल सच्याउन पनि आग्रह गरेका छन्।

थापाले नेपाल कुनै पनि छिमेकी राष्ट्रको सीमा अतिक्रमण नगर्ने मान्यतामा अडिग रहेको उल्लेख गर्दै अरूले नेपालको भूमि अतिक्रमण गरेको पनि स्वीकार गर्न नसकिने बताएका छन्।

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता क्षेत्रको विषयमा देशव्यापी बहस चलिरहेका बेला प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति पूर्णतः गैरजिम्मेवारपूर्ण  भएको टिप्पणी गरेका छन्।

‘देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्रीबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ’, थापाले भनेका छन्।

प्रधानमन्त्री शाहले संसद्‌मा दिएको अभिव्यक्तिपछि सीमा विवाद र राष्ट्रियताको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस थप चर्किने संकेत देखिएको छ।

प्रकाशित: १७ जेठ २०८३ १७:३८ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast