काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक हितविपरित, बोझिलो र वितरणमुखी रहेको आरोप लगाएका छन्।
बजेटको संरचनाले देशलाई गम्भीर आर्थिक संकटतर्फ धकेल्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रचारमुखी डिजिटल भाष्य र वास्तविक धरातलबीच ठूलो खाडल रहेको टिप्पणी गरेका हुन्।
बजेटमा उत्पादनशील क्षेत्रभन्दा अनुत्पादक क्षेत्रको हिस्सा अत्यधिक देखिएको चालिसेले जिकिर गरेका छन्। उनले कुल बजेटको ५९.८ प्रतिशत चालु खर्चका लागि छुट्याइनुले सरकार चालु खर्च नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएको पुष्टि भएको उल्लेख गरेका छन्।
चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने कुनै पनि विश्वसनीय र ठोस योजना बजेटमा देखिएको उनले बताएका छन्।
बजेटमा पूँजीगत खर्चको तुलनामा ऋणको लक्ष्य निकै उच्च रहेको उल्लेख गर्दै चालिसेले पूँजीगत खर्चभन्दा ऋण २२६.१८ अर्ब रुपैयाँले बढी हुनुले ‘ऋण लिएर ऋण नै तिर्ने’ वा प्रशासनिक खर्च धान्ने डरलाग्दो अवस्था सिर्जना भएको बताएका छन्।
ऋणको ठूलो हिस्सा मन्त्री, सांसद र कर्मचारीको तलब, भत्ता, सवारीसाधन, वैदेशिक भ्रमण र कन्सल्टेन्सी जस्ता अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम रहेको जिकिर गर्दै चालिसेले यसबाट प्रत्येक नेपालीको हिस्सामा करिब १ लाख २० हजार रुपैयाँ ऋण पुग्ने जोखिम रहेको उल्लेख गरेका छन्।
सरकारले राखेको १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्वको लक्ष्यलाई प्रवक्ता चालिसेले ‘महत्वाकांक्षी तर आधारहीन’ संज्ञा दिएका छन्। उत्पादन, उद्योग, निर्यात र रोजगारीवृद्धिको कुनै ठोस आधारविना नै यो लक्ष्य राखिएको उनको दाबी छ।
उनले आम सर्वसाधारणले उपभोग गर्ने बिजुली, शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा नयाँ शुल्क र करको दायरा विस्तार गरेर जनतामाथि अर्को भार थपिएको बताएका छन्।
मुलुकको २० प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनले उनीहरूका लागि बजेटले कुनै राहत ल्याउन नसकेको उल्लेख गरेका छन्।
आर्थिक रुपमा बोझिलो बजेटलाई आकर्षक र मृदु भाषा प्रयोग गरेर लुकाउने प्रयास गरिएको उल्लेख गर्दै चालिसेले जहाँ भोट त्यहीँ बजेट भन्ने नीतिबाट प्रेरित रहेको आरोप लगाएका छन्।
डिजिटल प्लेटफर्मको जगमा उदाएको वर्तमान सरकारले केवल डिजिटल संसारलाई खुसी पार्न वितरणमुखी बजेट ल्याएको उनले बताएका छन्।




