‘हिसाब’ व्यवसायीको ‘किताब’ उपहार

ध्रुवहरि अधिकारी १६ जेठ २०८३ ९:०३ | Saturday, May 30, 2026
14
SHARES
‘हिसाब’ व्यवसायीको ‘किताब’ उपहार

सरकारी सेवामा रहँदाको हिसाब-किताब बुझाउन नसक्दा भानुभक्त आचार्यलाई कुमारीचोक अड्डाले थुनामा राखेको घटना आदिकविको जीवनी पढ्ने सबैले थाहा पाएको विषय हो। ‘हिसाब र निसाफ’ तलमाथि पर्न हुँदैन भन्ने नेपाली मान्यता अचेल लोकोक्तिकै श्रेणीमा उक्लिसकेको छ। कालक्रममा,साबिकमा कुमारीचोकले गर्ने कामको जिम्मेवारी सर्दै-सर्दै महालेखा नियन्त्रक र महालेखापरीक्षक समेतका कार्यालयले गर्न थालेको पनि दशकौं भइसक्यो।

आमदानी-खर्चको हिसाब राख्ने-जाँच्ने विषयको पढाइमा प्रवीण भई नेपालमा त्यसकै व्यवसाय गर्ने चार्टर्ड एकाउण्टेण्ट (सी.ए.) को सन्दर्भमा कुबेर शर्मालाई अग्रणी मानिन्छ। गुगललाई सोध्नेले पाउने जवाफ पनि यही हो। राजनीतिमा रुचि राख्नेहरूले कुबेरजीलाई नेपाली काँग्रेसका नेता,सांसद् र मन्त्रीको रूपमा पनि चिन्छन्, सम्झिन्छन्। पछि कुबेरका भाइ तीर्थराज उपाध्याय पनि सी.ए.गरेर लेखापरीक्षणकै व्यवसायमा लाग्नु एउटा संयोग हो।

कानून पढेका वकिलहरूको जमात जति ठूलो समूह लेखापरीक्षकहरूको नहोला तर विषय-विज्ञताको महत्व आफ्नो ठाउँमा विशिष्ट नै छ। यसै विषयको सेरोफेरोमा एउटा राम्रो झलक दिने पुस्तक हो ‘आरोह-अवरोह’। करिब तीनसय पृष्ठको यस प्रकाशनमा सी.ए.तीर्थराजका व्यावसायिक अनुभवका विविध पक्षहरू समेटिएका छन् जुन लेखापरीक्षण पेशामा लागेका र लाग्न चाहनेहरूका लागि मार्गदर्शन हुन सक्दछन्। यस पेशामा सम्लग्न कतिपय लेखापरीक्षकलाई तीर्थराज उपाध्यायलाई गुरु र अभिभावक नै मान्दछन्।

लेखापरीक्षणमा ५० वर्षको अनुभव चानचुने होइन पनि। टीआरसँग केपीएम्‌जी जस्तो ख्यातिप्राप्त परामर्श संस्थासित सहकार्य गरेको अनुभव पनि थियो।

सन् २०२२को मे १३ तारिख (३० वैशाख २०७९) का दिन तीर्थराजको निधन वाशिङ्‌गटनमा हुन गयो। एक अग्लो पसलघरको सिंढीबाट ओर्लिंदा चिप्लिएर घाइते भई उपचारार्थ अस्पताल पु-याइयो, तर बचाउन सकिएन। दाजु कुबेर
शर्माको देहावसान केही वर्ष पहिले नै भएको थियो। पोखरेल परिवारमा जन्मेका दाजु-भाइ सप्तरीको नर्घो गाउँका बासिन्दा हुन्।

सामाजिक परिवेश, राजनीतिक रुचि

नौ परिच्छेदमा विभाजित यो पुस्तक लेखापरीक्षणमा सीमित भने छैन। यसमा लेखकको जीवनी र पारिवारिक पृष्ठभूमि छ जसबाट पाठकले सप्तरी जिल्लाको देहातको जन-जीवनलाई नजिकबाट चिन्ने अवसर पाउँछन्। पूर्वी तराईको यस जिल्लाले पहिले सिरहालाई समेत समेट्थ्यो। स्थानीय तहमा बहुसंख्यक मानिसले बोल्ने र बुझ्ने भाषा मैथिली हो। पुस्तकमा मिथिलाक्षेत्रका संस्कृति र परम्पराको विस्तृत जानकारी भेटिन्छ। राजनीतिक आयाम र त्यस भेगका अगुवाहरूको चर्चा हुने नै भयो। तीर्थराजजीका पिताले बीसौं वर्ष प्रधानपञ्च भएर आफ्नो बस्तीको भलाइमा यथासक्य योगदान गर्नुभएको रहेछ। स्थानीय बासिन्दाहरूको सहभागिताबाट खुलेको जनता माध्यमिक विद्यालयमा प्रार्थनासभामा ‘जन गण मन’ गराउँथे। भारतको विहारबाट आएका शिक्षकले हिन्दी पुस्तक पढाउनु र पण्डित नेहरूलाई प्रधानमन्त्रका रूपमा चिनाउनु पनि अनौठो कुरो भएन। परिपक्व उमेरमा पुगेपछि लेखिएको ‘आरोह-अवरोह’ मा शिक्षालयबारेको लेखकको यस्तो सशक्त मान्यता भेटिन्छः–” विद्यालय भनेको आँखा हो। त्यहाँ दृष्टिको सृजना हुन्छ, चेतनाले उम्रने अवसर पाउँछ बीजाङ्‍कुरण हुन्छ”। शिक्षालय निरीक्षक भएर उस बखत त्यता पुगेका दीर्घराज कोइरालाले ‘गिर्जाघर’ के हो ? भनेर सोध्दा दिएको उत्तरबाट प्रश्नकर्ता प्रभावित भएका रहेछन्।

काठमाडौं आएर त्रिचन्द्र कलेजमा पढ्न थालेदेखि सी.ए.को लागि भारतमा अध्ययनरत रहँदाका तीता-मीठा प्रसङ्‌ग मात्र होइन यस किताबमा महालेखा परीक्षक भीमबहादुर पाँडेको प्रोत्साहनमा थालेको जागीरे जीवनका उकाली-ओरालीका रोचक वर्णन पनि भेटिन्छन्। कामको सिलसिलामा देश-दर्शन गर्दा सामना गरेका चुनौती र अवसरहरूको चर्चा भएको छ। यात्रा अनुरागी टीआरजी (प्रकाशिका कल्पना उपाध्यायबाट लेखकलाई यसरी नै सम्बोधन भएको छ)।

अमेरिका,क्यानडा, ब्राजिल, जापान, श्रीलङ्का, चीन, कोरिया लगायतका धेरैतिर बटुलेका अनुभव र अनुभूतिबाट निकै रोमाञ्चित भएको अनुमान गर्न सकिन्छ। यो कृति पढ्दै जाँदा मलाई यात्रा-निबन्धको विधामा हात हालेका जय छाङ्छा,हरिकुमार श्रेष्ठ र जीवा लामिछानेका नियात्रा साहित्यमा रमाएको सम्झना भएको छ। भारतका तीर्थस्थल पुग्दाको बयान पढ्दा त पाठकलाई आफैं तीर्थाटनमा गएको भान हुने रहेछ।

देशभित्र पेशागत कार्यबाट फुर्सद पाउँदा राजनीति बुझ्न (गर्न होइन) लालयित रहने टीआर कृष्णप्रसाद भट्टराई (किसुनजी) निकट भएको देखिन्छ। “खर्चको मामिलामा उहाँ इमान्दार व्यक्ति हुनुहुन्थ्यो”–टीआरको कथन। भनिन्छ, उहाँको कोटका दुई खल्तीमध्ये एउटामा पार्टीको लागि प्राप्त चन्दा र अर्को आफ्नो निजी खर्चको रकम। किसुनजीको काम गर्ने शैलीबारे राम्रो जानकारी राख्ने विमान-चालक क्याप्टेन श्रीराम शर्मा दाजु कुबेर र भाइ तीर्थ दुबैका निकटतम् मित्र। परिच्छेद ६ मा राजनीतिप्रति टीआरको आकर्षणबारे विस्तृत विवरण पढ्न सकिन्छ। हुन त मेरो पनि चिनापर्ची थियो तर टीआरको सङ्‌गतमा रहेका पत्रकारहरूको मण्डली ठूलै रहेछ। वरिष्ठ पत्रकार
किशोर नेपालको ‘अभिव्यक्ति’ पुस्तकको सिरानतिरै छापिएको छ जसमा ‘तीर्थ दाइ’ को व्यक्तित्व राम्ररी झल्काइएको छ।

दुराग्रह/पूर्वाग्रह

पुछारको ‘विविध’ खण्डमा परेको ‘अख्तियारमा तीन घण्टा बयान’ मा पूर्वाग्रह र प्रतिशोधका सिलसिला कस्तासम्म हुन्छन् त्यसको अनुमान गर्ने आधार फेला पर्छन्। अख्तियारको दुरुपयोग रोक्ने उद्देश्य राखेर संवैधानिक संस्था त खोलिन्छ तर त्यसमा नियुक्ति लिने र दिनेहरूले नै निजी स्वार्थपूर्तिको क्रममा संस्थालाई नै निकम्मा तुल्याइदिन्छन्। ‘बिसौनी’ पछिका केही पृष्ठमा राखिएका तस्बिरले स्वर्गीय टीआरको सार्वजनिक छवि उजिल्याउन मद्दत गरेका छन्।

लेखापरीक्षणका व्यवसायीका लागि उपयोगी हुने कोणबाट यस पुस्तकको अर्को संस्करण निस्कन सक्ने देखिन्छ। कदाचित् निस्कने भयो भने हाल सम्पादनको जिम्मा लिने शुभेच्छा विन्दु तुलाधरले मुद्रणको क्रमका गल्ती सच्याउनाको साथै तथ्यगत विवरणमा तलमाथि परेका कुरालाई मिलाएर परिमार्जित गराउनु आवश्यक देखिन्छ। जस्तो, एकजना सज्जनको नाम कतै माधवराज भण्डारी लेखिएको छ त कतै माधव राजभण्डारी। भन्नु परेन, भण्डारी र राजभण्डारी थर फरक फरक हुन्। अर्को उदाहरण हो २०३७ सालको जनमतसङ्ग्रहताकाको। यसमा ज्योतिष ‘अग्निरस’ लेखिएको छ, तर वास्तवमा उनको नाम अङ्‌गीरस हो। त्यस्तै, इन्दु-शंकर चिनी उद्योग सर्लाहीमा छ तर पुस्तकमा रौतहट छापिएको देखियो।

सारांशमा, कल्पना उपाध्यायले भनेझैं यो ‘आरोह-अवरोह’ सबैको सम्पत्ति भइसकेको छ। सम्पत्तिको उपयोग गरौं, जगेर्ना गरौं।

प्रकाशित: १६ जेठ २०८३ ९:०३ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast