ललितपुर- अपांगता भएका व्यक्तिहरूको अधिकार तथा समावेशी शिक्षाबारे विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोदावरी नगरपालिकाभित्रका पाँच सामुदायिक विद्यालयमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, ललितपुरको साझेदारीमा अपांगता सशक्तिकरण समाज नेपालले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममार्फत विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूलाई अपांगता अधिकार, सम्मानजनक व्यवहार, पहुँचयुक्त वातावरण र समावेशी शिक्षाको अवधारणाबारे जानकारी प्रदान गरिएको थियो।
अभिमुखीकरण कार्यक्रम किटिनी माध्यमिक विद्यालय (टौखेल), फुल्चोकी माध्यमिक विद्यालय (ठैब), सरस्वती माध्यमिक विद्यालय (ठेचो), वाणी विलास माध्यमिक विद्यालय (चापागाउँ) तथा बुद्ध माध्यमिक विद्यालय (बाडेगाउँ) मा सञ्चालन गरिएको थियो।
कार्यक्रममा माध्यमिक तहका २५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने ५० भन्दा बढी शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, समावेशी शिक्षाको आवश्यकता, विद्यालयमा पहुँचयुक्त संरचना निर्माण, सम्मानजनक भाषा तथा व्यवहार, विभेद न्यूनीकरण तथा सबै बालबालिकालाई समान अवसर सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूलाई सम्बोधन गर्दै प्रशिक्षक तथा वक्ताहरूले समावेशी शिक्षा केवल अपांगता भएका विद्यार्थीहरूको विषय नभई सम्पूर्ण विद्यालय प्रणालीलाई समान, न्यायपूर्ण र पहुँचयुक्त बनाउने प्रक्रिया भएको बताएका थिए।
उनीहरूले शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, शारीरिक पहुँच, सञ्चार तथा सहभागितामूलक वातावरण निर्माणमा विद्यालय समुदायको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
अन्तरक्रिया सत्रमा विद्यार्थीहरूले अपांगतासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयमा समावेशी वातावरण निर्माणका लागि आवश्यक नीति, पूर्वाधार तथा व्यवहारिक अभ्यासबारे सुझाव दिएका थिए।
केही विद्यालयहरूले भविष्यमा पहुँचयुक्त शौचालय, सहज पहुँच मार्ग तथा अपांगतातामैत्री सिकाइ वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
कार्यक्रमका क्रममा सहभागीहरूलाई अपांगता भएका व्यक्तिहरूप्रति दया वा सहानुभूतिको दृष्टिकोणभन्दा अधिकार, सम्मान र समान अवसरको दृष्टिकोण अपनाउनुपर्ने सन्देश दिइएको थियो।
समावेशी शिक्षा प्रवर्द्धनका लागि स्थानीय सरकार, अभिभावक, समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रमको सञ्चालन तथा संयोजन कृष्ण महर्जनले गरेका थिए भने सहजीकरण टेकनाथ न्यौपाने र सुमन घिमिरेले गरेका थिए। कार्यक्रमलाई कुञ्जन काफ्लेले सहयोग गरेका थिए।
आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमहरूलाई स्थानीय तह तथा विद्यालयस्तरमा निरन्तर विस्तार गर्दै लैजाने योजना रहेको छ।




