प्रावि विज्ञापन रोक्नु गलत, तत्काल आयोगको काम अघि बढाउन भट्टराईको माग

हिमाल प्रेस ११ जेठ २०८३ ११:०९ | Monday, May 25, 2026
318
SHARES
प्रावि विज्ञापन रोक्नु गलत, तत्काल आयोगको काम अघि बढाउन भट्टराईको माग

काठमाडौँ- शिक्षक नेता रमेशबाबु भट्टराईले शिक्षक सेवा आयोगको नेतृत्वलाई राजनीतिक दुराशय राखेर हटाइएको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। आयोगमा तत्काल अध्यक्ष र सदस्य नियुक्त गरी रोकिएका सम्पूर्ण कामकारबाही अगाडि बढाउन उनले माग गरेका हुन्।

भट्टराईले आयोगका पदाधिकारीहरू स्थापित विधि र प्रक्रियासम्मत रूपमा छनौट भएर आएको स्मरण गराएका छन्। लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिवको सिफारिसमा नेपाल सरकारबाट नियुक्त भएका पदाधिकारीहरूले आफ्नो अब्बलता प्रमाणित गरिसकेको उनको भनाइ छ।

‘समयमै कार्यसम्पादन गरेर अब्बल प्रमाणित भइसकेका व्यक्तिहरूलाई राजनीतिक दुराशय राखेर हटाउनु र फेरि त्यही प्रक्रियाबाट नयाँ नियुक्तिको नाटक रच्नु कति सान्दर्भिक छ? पहिलेको नियुक्तिलाई बेठिक र अब हुनेलाई मात्र ठिक भन्न मिल्दैन,’ भट्टराईले भने।

विज्ञापन प्रक्रिया रोक्नु आपत्तिजनक

प्राथमिक तह (प्रा.वि.) को विज्ञापनका लागि शिक्षक सेवा आयोगले कार्यतालिका समेत प्रकाशित गरिसकेको अवस्थामा ‘दरबन्दी रूपान्तरण’ को बहाना बनाएर विज्ञापन रोक्नु गलत भएको उनले बताए। उनले भने,‘दरबन्दी रूपान्तरणको काम समयमै फछ्र्यौट गरिनुपर्थ्यो। यदि समयमा हुन सकेन भने चालु प्रक्रियालाई रोक्नु न्यायसंगत हुँदैन।’

सरकारको ढिलासुस्ती र लाचारीका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्दा समेत सरकार मूकदर्शक बनेर बसेको भन्दै उनले आपत्ति जनाए। यो वा त्यो बहानामा समय बर्बाद नगर्न र समयको महत्त्वलाई बुझ्न उनले सरकारलाई सचेत गराए।

शिक्षक नेता भट्टराईले विद्यार्थीको भविष्यमाथि खेलबाड बन्द गरी शिक्षक सेवा आयोगको कामकारबाहीलाई निरन्तरता दिने वातावरण तत्काल निर्माण गर्न सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विनम्र अनुरोध समेत गरेका छन्।

भट्टराईको भनाइ
सरकारलाई ध्यानाकर्षण।
शिक्षामन्त्रीलाई र मन्त्रालयलाई ध्यानाकर्षण।
विद्यार्थीको भविष्यमाथि खेलबाड नगरौं।
तत्काल शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्त गरी शिक्षक सेवा आयोगका काम कार्बाही अगाडि बढाउन अनुरोध छ। शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य विधिसम्मत छनौट भई (लोक सेवा आयोग अध्यक्ष, त्रि.वि.उपकुलपति र मन्त्रालयको सचिवको सिफारिसमा नेपाल सरकारबाट नियुक्त।) आफ्नो अब्बलता देखाई समयमै कार्य सम्पादन गरेको प्रमाण बोल्दछ। फेरि पनि यहि प्रक्रियाबाट नियुक्त गर्नै पर्छ त किन बर्खास्त?
राम्रो कार्य सम्पादन गर्नेलाई पनि राजनीति दुराशय राखेर हटाउने र फेरि त्यही प्रक्रियाबाट नियुक्त गर्दा ठिक भन्नू र पहिले गरेको बेठिक भन्नू कति सान्दर्भिक छ?
प्रावि विज्ञापनका लागि शिक्षक सेवा आयोगले तालिका प्रकाशित गर्दा समेत दरबन्दी रुपान्तरणका नाममा विज्ञापन प्रक्रिया रोक्नु पनि उचित छैन। कि दरबन्दी रुपान्तरण समयमै गर्नुपर्यो कि त प्रक्रिया रोक्नु भएन।
सरकारले ढिलासुस्ती र समयमै कार्य सम्पादन नगरी लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा समेत मुकदर्शक भएर बस्नु आपत्तिजनक छ।
सरकारले यो र त्यो बाहानामा ढिलासुस्ती नगरी लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड नगरी समयको महत्त्व बुझी समयमै शिक्षक सेवा आयोगको काम कामकारबाहीमा निरन्तरता दिने वातावरण निर्माणका लागि विनम्र अनुरोध गर्दछु।

प्रकाशित: ११ जेठ २०८३ ११:०९ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast