अपमान र दबाबको घेरामा ओली

किरण पौडेल १० जेठ २०८३ २०:२५ | Sunday, May 24, 2026
16
SHARES
अपमान र दबाबको घेरामा ओली

काठमाडौँ-  ६ महिनाअघिसम्म केपी शर्मा ओलीका पक्षमा सशक्त भएर उभिएका एमालेका नेताहरू अहिले उनको विपक्षमा उभिएका छन्। पुस पहिलो साता सम्पन्न पार्टी महाधिवेशनमा ओलीलाई निरन्तर रूपमा तेस्रो पटक अध्यक्ष बनाउन साथ दिएका नेताहरू यति बेला ओलीले पद छाड्नुपर्ने पक्षमा उभिएका हुन्।

पार्टी सचिवालयका बहुमत पदाधिकारीले ओलीले एमाले अध्यक्षबाट राजीनामा दिनुपर्ने अडान लिएपछि राजनीतिको उत्तरार्धमा पुगेका ओली ‘आफ्नैबाट’ अपमानको सामना गरिरहेका छन्। भक्तपुरको गुन्डुमा जारी पार्टी सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले राजीनामा मागेपछि ओली अल्पमतमा परेका हुन्।

निरन्तर तीन कार्यकाल अध्यक्ष बनेका ७५ वर्षीय ओली पार्टी नेतृत्वमा आएपछि पहिलो पटक अल्पमतमा परेका छन्। पुसमा सम्पन्न पार्टी महाधिवेशनमा ओलीलाई जिताउन दिलोज्यान दिएर लागेका नेताहरू अहिले राजीनामा दिन दबाब दिइरहेका छन्। ओली एमालेको नवौँ महाधिवेशन २०७१ देखि अध्यक्ष रहँदै आएका छन्।

जेनजी आन्दोलन (भदौ २३ र २४) पछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले एमाले अध्यक्षबाट पनि हट्ने अड्कलबाजी थियो। तर ओली तेस्रो पटक अध्यक्ष बन्नेगरी अघि बढेपछि त्यतिबेलै नेतृत्व हस्तान्तरणको आवाज उठेको थियो। त्यो आवाजलाई उठ्नै नदिएर अध्यक्ष ओलीले वडा तहदेखि नै आफू निकटका कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बनाएका थिए। प्रतिनिधि चयनमै भिन्न मतको कदर नगरेपछि ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न सहज भएको थियो। त्यसमा  नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ सक्रिय साथ दिएका थिए।

ती नेताले ओलीलाई दुरदर्शी भन्दै तेस्रो पटक पनि ओलीले नेतृत्व सम्हाल्नुपर्ने प्रस्ताव गरे। ‘देशमा हमला भयो। हामीले बलियो नेतृत्व चुन्ने बेला आएको छ। राष्ट्र र संविधानलाई जगाउनका लागि पनि नेतृत्वमा नयाँ आएर हुन्न’, एमालेका उपाध्यक्ष विष्णु पौडेलले भनेका थिए। एमाले महाधिवेशनमा ओलीसँग ईश्वर पोखरेल लड्ने तयारी चलेको थियो। पोखरेललाई कमजोर बनाउँदै ओलीलाई जिताउन अग्रपंक्तिमा रहेर काम गरे, पौडेल र पोखरेलले।

‘विष्णु पौडेलले त बन्दसत्रमा ओली भनेको नेताहरूको पनि नेता, पूर्वीय दर्शनका पितासम्म भन्न भ्याए’, एमालेका एक नेता सम्झन्छन्, ‘उहाँ राजनीति मात्र होइन, सबैथोक जानकार हुनुहुन्छ। भन्ने सन्देश पौडेलले दिएका थिए।’

एमालेमा महाधिवेशन अघि दुई प्यानल खडा भए। एकातिर ओली हुँदा अर्कातिर ईश्वर लड्ने निश्चित भयो। नेताहरूका अनुसार विष्णु पौडेलसहितका नेताहरूले ईश्वरलाई साथ दिने अनुमान थियो। तर एकाएक पौडेलसहितका नेताहरूले ओलीकै पक्षमा उभिए। विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, पद्मा अर्यालसहितका नेताले ओलीको विकल्प नभएको भन्दै संस्थापन पक्षमै खुलेका थिए। नेताहरूका अनुसार पौडेल-गुरुङ पक्ष संस्थापन पक्षमा खुलेपछि ओली दरिलो बनेका थिए।

विष्णु पक्ष खुलेसँगै महासचिवमा को रहने भन्ने अन्योल रह्यो। पृथ्वीसुब्बा, शंकर र विष्णु महासचिवको दौडमा थिए। ओलीले शंकरलाई अघि सारे। शंकरलाई अघि सार्दा ओली पक्षमै फाटो देखियो। महासचिवका दाबेदार प्रदीपले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए र उपाध्यक्ष पद नलिने बताए। ‘ओली खेमामा भूकम्प आएको थियो। ओलीले आफू नजिक मानिने पोखरेललाई नै अघि सारे’, एमालेका एक नेता भन्छन्।
पछिल्लो समय ओलीको राजीनामा माग्ने लहरको अग्रपंक्तिमा छन्, विष्णु, पृथ्वीसुब्बा र शंकर। यसअघि विष्णु-शंकर साठगाँठ बनेपछि ओली दबाबमा छन्। पदाधिकारी (सचिवालय) बैठकमा पौडेल, गुरुङ र पोखरेलले ओली राजीनामा दिनुपर्ने विषय उठाएका छन्। पौडेलले जेनजी आन्दोलनमै ओलीले नेतृत्व छाडेको भए एमाले कमजोर नहुने तर्क राखेका थिए।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बाले एमाले ओलीको मात्र प्राइभेट कम्पनी नरहेको तर्क गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार गुरुङ र ओलीबीच विवाद भएको छ। बैठकमा निर्णायक मानिएका पोखरेलले पनि ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। यसपछि ओली अल्पमतमा परेका हुन्। नेताहरूका अनुसार चार उपाध्यक्षमध्ये तीन, एक महासचिव, तीन उपमहासचिवमध्ये दुईजनाले ओलीको विकल्प खोज्नुपर्ने विषय बैठकमा राखेका थिए।

उपाध्यक्षहरूमध्ये रामबहादुर थापा ‘बादल’ र उपमहासचिव लेखराज भट्ट ओली पक्षमा खुलेका थिए। अन्य नेताहरूले नेतृत्वको हस्तान्तरणका पक्षमा छन्। नौ सचिवमध्ये शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्कीले ओलीका विपक्षमा अभिव्यक्ति दिए। ओली पक्षमा खुल्नेमा महेश बस्नेत र पद्मा अर्याल मात्र रहेको एक नेता बताउँछन्।

एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य ओलीले तत्काल राजीनामा दिनु उपयुक्त हुने बताउँछिन्। ‘यो पार्टी तपाईं (ओली) को मात्र पेवा होइन। एमाले तपाईं‌को गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ’, शाक्य भन्छिन्, ‘अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।’

व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने समय अहिले नभएको भन्दै उनी ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउँछिन्।

हिजो साथ, आज विरोध

फागुन २१ को निर्वाचनमा तेस्रो दलमा सीमित एमालेका चुनाव लडेका सबै पदाधिकारीले हारेका छन्। अध्यक्ष ओली, उपाध्यक्ष पौडेल, महासचिव शंकर, उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्टले चुनाव हारे। ‘हिजो पनि हामीले उपयुक्त उम्मेदवार (अध्यक्ष) पाएनौँ। दोस्रो पुस्तालाई ल्याएर मात्र पनि हुन्न’, एमाले युवा नेता नरेश रोकाय भन्छन्, ‘तेस्रो पुस्ताबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने सोच पार्टीले बनाउनुपर्छ।’
६ महिनामै किन फेरिए नेता?

हिजो ओली जिताउने नेताहरू आज ओलीले राजीनामा दिनु एमाले बचाउने उपयुक्त विकल्प हो भन्न थालेका छन्। ‘चुनावले हामी पुस्तान्तरणमा जानुपर्छ भन्ने सन्देश दिएको हो। अब ढिला नगरे धेरै क्षति हुन्छ,’ एमाले नेता खिमलाल भट्टराई भन्छन्, ‘आगामी चुनावमा एमाले भरभराउँदो बनाउन पनि पुस्तान्तरणको कुरा उठेको हो।’

त्यसो त, एमालेमा चुनावपछि नेतृत्व फेरबदलको कुरा उठेको थियो। तर बालेन शाह प्रधानमन्त्री बनेसँगै एमाले अध्यक्ष पक्राउ परे। ओली पक्राउपछि दोस्रो स्तरका नेताहरूको सक्रियतामा पुस्तान्तरणको आवाज झनै उठ्न थाल्यो। तल्लो तहमा नेताहरू विशेष महाधिवेशन भन्दै हस्ताक्षर गराउनेदेखि रचनात्मक कार्यक्रम गर्दै राजीनामा माग्नेसम्मका कार्यक्रम भइरहेका थिए। विद्यार्थी नेता कमल जोशीका अनुसार पार्टीलाई समक्षसापेक्ष बनाउन रचनात्मक कार्यक्रम गरिएको हो।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश, चुनावको एमालेको पोजिसनसहितका कुराले ओलीको राजीनामा माग्नुपरेको नेताहरू बताउँछन्। एमाले सचिव महेश बस्नेतले भने यतिबेला नेतृत्वको राजीनामा माग्ने समय नभएको बताउँछन्। अध्यक्ष आफँै पनि कमजोर बनेका बेला राजीनामा माग्नु गलत भएको बस्नेतको तर्क छ।

प्रकाशित: १० जेठ २०८३ २०:२५ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast