काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रण दिएका छन्।
भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रधानमन्त्री मोदीसँग भएको भेटवार्ताका क्रममा अमेरिका भ्रमणका लागि निम्तो दिएका हुन्।
प्रधानमन्त्री मोदी र अमेरिकी विदेशमन्त्री रुबियोबीच भएको भेटवार्ताबारे भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले जानकारी साझा गरेका हुन्।
सामाजिक सञ्जालमा गोरले भनेका छन्,‘विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउस भ्रमणका लागि आधिकारिक निमन्त्रणा दिएका छन्।’
प्रधानमन्त्री मोदी र विदेशमन्त्री रुबियोबीच भएको भेटवार्तामा सहभागी हुन पाउनु राम्रो रहेको उनले बताएका छन्।
भेटका क्रममा सुरक्षा, व्यापार,प्रविधिलगायतका विषयमा छलफल भएको उनले जानकारी दिएका छन्।
‘हामीले सुरक्षा, व्यापार र महत्वपूर्ण प्रविधिका क्षेत्रमा भारत–अमेरिका सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूमाथि छलफल ग¥यौँ, यी यस्ता क्षेत्र हुन् जसले दुवै देशलाई बलियो बनाउँछन्। भारत अमेरिकाको एक निकै महत्वपूर्ण साझेदार हो,’ उनले भनेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी विदेशमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
मोदीले सामाजिक सञ्जालमा लेखेका छन्,‘अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। हामीले भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीमा निरन्तर प्रगति, साथै वैश्विक शान्ति र सुरक्षासँग जोडिएका मुद्दाहरूमा छलफल ग¥यौँ। भारत र अमेरिका विश्वको हितका लागि मिलेर काम गरिरहनेछन्।’
अमेरिकी विदेशमन्त्री रुबियो शनिबार भारत भ्रमणमा आएका हुन्। उनको कोलकत्ता, जयपुर र आगरा भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।




