पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल

हिमाल प्रेस ६ जेठ २०८३ ८:१३ | Wednesday, May 20, 2026
6
SHARES
पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल

पर्सा- तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ। तथ्यांक समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक गणकलाई उपलब्ध नगराएको दाबी गरे । ‘पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्यांक पनि पाउन समस्या भइरहेको छ’, उनले भने, ‘यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्यांक उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।’

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्यांक दिन उद्योगी–व्यवसायी तयार रहेको पनि दाबी गरे। ‘कुनकुन औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक दिएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन’, उनले भने, ‘सम्बन्धित कार्यालयले सङ्घलाई अनुरोध गरेको खण्डमा सङ्घले औद्योगिक प्रतिष्ठानहरूलाई पत्र लेखेरै भए पनि आर्थिक गणनामा सहभागी हुनका लागि अनुरोध गर्न र समन्वय गर्न हामी हरदम तयार रहेका छौँ ।’

पर्सामा तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्सा जिल्लाभरिमा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा सोमबारसम्म भने १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरीवेक्षक खटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित: ६ जेठ २०८३ ८:१३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast