तनहुँ- तनहुँका १० स्थानीय तहमध्ये डढेलोका हिसाबले देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ। डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक दशकको तथ्यांकले देवघाटलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा देखाएको हो।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार देवघाट गाउँपालिकामा पछिल्ला १० वर्षमा ४६ पटक वन डढेलो लागेको छ। यो जिल्लाकै सबैभन्दा उच्च हो। उनका अनुसार अन्य स्थानीय तहमा पनि डढेलोका घटना देखिए तापनि देवघाटमा यसको आवृत्ति अत्यधिक रहेको छ।
व्यास नगरपालिकामा ३४, भानुमा २१, आँबुखैरेनी गाउँपालिकामा २६, ऋषिङमा २९, बन्दीपुरमा १६, घिरिङमा १५, म्याग्दे गाउँपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा आठ र भिमाद नगरपालिकामा छपटक डढेलोका घटना भएका छन्।
डढेलोका कारण वन क्षेत्रमात्र नभई जैविक विविधता, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पर्ने गरेको छ। वनमा लाग्ने आगोले जडीबुटी, वन्यजन्तु, वनस्पति तथा माटोको उर्वराशक्ति नष्ट गर्ने खतरा बढाउँदै लगेको रानाभाटले बताए।
डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा तनहुँका ८४ वटा सामुदायिक वनमा डढेलो लागेको थियो, जसबाट ६६२.५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो। त्यस्तै, आव २०८०/८१ मा ७१ वटा सामुदायिक वनमा डढेलो लाग्दा १३२२.८ हेक्टर वन क्षेत्र क्षतिग्रस्त भएको थियो।
वन डढेलो न्यूनीकरणका लागि कार्यालयले जनचेतनामूलक कार्यक्रम, सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय, निगरानी टोली परिचालन तथा पूर्वतयारीका विभिन्न उपायहरू अपनाउँदै आएको जनाएको छ। तर, सुक्खा मौसम, मानवीय लापरवाही र पर्याप्त स्रोतसाधनको अभावका कारण चुनौती कायम रहेको प्रमुख रानाभाटले बताए।
उनले वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सचेतना र सतर्कता बढाउन आग्रह गरे।
रानाभाटका अनुुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेहरूबाट १५ प्रतिशत, सिकारीबाट सात प्रतिशत, वनभोज क्याम्पफाइरिङबाट सात प्रतिशत, बच्चाहरूबाट खेल्दा छ प्रतिशत, अवैध काठ कटान गर्नेहरूबाट पाँच प्रतिशत, अतिक्रमणकारीबाट पाँच प्रतिशत, खोरिया फडानीबाट पाँच प्रतिशत, गोल पोल्नेबाट चार प्रतिशत, जडीबुटी संकलकबाट तीन प्रतिशत डढेलो लाग्ने गरेको छ।




