डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त

हिमाल प्रेस ५ जेठ २०८३ १९:१८ | Tuesday, May 19, 2026
16
SHARES
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। यसैगरी मंगलबार संसदीय समितिले उनको नाम अनुमोदन गरेको थियो।

राष्ट्रपति पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत  उच्च तहका सरकारी अधिकारीहरुको उपस्थिति थियो। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शर्मा रोलक्रमका हिसाबले चौथो स्थानमा रहेका न्यायाधीश हुन्। पहिलोमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल रहेकोमा दोस्रोमा कुमार रेग्मी र हरिप्रसाद फुयाल थिए। उनीहरूलाई उछिनेर संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो।

वरिष्ठतम् न्यायाधीशलाई सिफारिस नगरेर रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै रोलक्रमअनुसार प्रधानन्यायाधीशको लाइनमा रहेकी वरिष्ठतम न्यायाधीश मल्ल सर्वोच्चको नेतृत्व सम्हाल्नबाट वञ्चित भएकी छन्। प्रधानन्यायाधीश नियुक्ति ज्येष्ठताको परम्परामा आधारित हुँदै आएकोमा यसपटक नेपालको न्यायिक इतिहसमा त्यो परम्परा ढलेको छ।

प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ। शर्माले पूरै कार्यकाल सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्। उनी २०९२ असारमा ६५ वर्ष पुग्नेछन् भने ६ वर्षे कार्यकाल पूरा गर्दा उनी २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन्।

प्रधानन्यायाधीश सिफारिस भएका शर्माको २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगन्जमा भएको हो। उनले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन्। उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन्।

शर्मासँग १९९५ मा अधिवक्ताका रूपमा भर्ना भएर कानुनका विभिन्न क्षेत्रमा अभ्यास गरेको अनुभव छ। उनले धेरै कम्पनी र संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा काम गरेका छन्। बुटवल र पाटनमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रूपमा काम गरेका उनले २०७६ वैशाख ६ देखि सर्वोच्च अदालतको न्यायाधीशको कार्यभार सम्हालेका हुन्।

प्रकाशित: ५ जेठ २०८३ १९:१८ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast