अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी वर्षको बजेट आउने बताएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रुपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यहि दिशामा हुने बताए।
उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरुको बचाउ नगर्दिन विपक्षी सांसदहरुलाई आग्रह गरे। श्रमिक, किसान, भूमिहीन, सुकुम्बासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरी सरकार प्रस्तुत हुने उनले बताए। गरिबीको खेती नै गर्ने एउटा ठूलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे।
मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरुले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे। विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचापत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे।
उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्तावेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए।




