संसद्‌मा अर्थमन्त्री खोज्दै अमरेशले भने- मधेश विस्फोटको अवस्थामा छ

हिमाल प्रेस ५ जेठ २०८३ १५:०९ | Tuesday, May 19, 2026
16
SHARES
संसद्‌मा अर्थमन्त्री खोज्दै अमरेशले भने- मधेश विस्फोटको अवस्थामा छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले परम्परा तोड्ने नाउँमा सबै परम्परा तोड्नु उपयुक्त नभएको बताएका छन्। प्रतिनिधिसभामा मंगलबार विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तसम्बन्धी छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित भएपछि उनले यस्तो बताएका हुन्।

‘परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन,’ सिंहले भने, ‘विनियोजन विधेयकको प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्नुपर्ने सिस्टम छ, परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यहीँबाट जान्छ।’ सिंहले सबै परम्परा भत्काउँदै गए संसद्को औचित्य समाप्त हुने उल्लेख गरे।

‘यो रेकर्ड गराउनका लागि मात्रै बोल्दै छु, किनकि हामी पाँचौँचोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य समाप्त हुन्छ। पार्लियामेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ, हाम्रो देश र संविधानले पार्लियामेन्ट्री सिस्टमलाई अंगीकार गरेको छ, जहाँ सबै पार्लियामेन्ट्रियन समान हुन्छ,’ उनले भने, ‘प्रश्न सरकारसँग गरिन्छ र जनताको कुरा सांसदले सरकारसमक्ष राख्दछ।’

अर्थमन्त्री उपस्थित नहुँदा पनि विनियोजन विधेयकमाथि छलफल चलिरहेको आफूले पहिलोपटक देखेकाे उनले बताए। सिंहले भने, ‘२० वर्षको कार्यकालमा म पहिलोपटक हेर्दै छु, अर्थमन्त्री नभएर पनि बजेट विनियोजनमाथिको छलफल चल्दै छ, यो कस्तो परम्पराको सुरुवात हुँदैछ, नयाँको नाममा सबैथोक भत्काउने होइन।’

विधेयकमा मधेशका लागि केही नदेखिएको आरोप लगाउँदै सिंहले मधेश विस्फोटको अवस्थामा पुगेको जिकिर गरे। ‘विनियोजन विधेयक पढ्दा मधेशका लागि केही देखिएन, राणाकालदेखि रहेको हुलाकी राजमार्गका लागि हुलाकी शब्द पनि लेखिएको छैन। राणाकालपछि अहिलेसम्म हुलाकी राजमार्ग निर्माण अझै सम्पन्न भएको छैन,’ उनले भने, ‘मधेशलाई काउन्टर गर्न त्यसपछि दुईवटा राजमार्ग बने मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग, दुवैको फास्टट्र्याकबाट निर्माण सम्पन्न भयो, तर ११० वर्ष पुरानो हुलाकी राजमार्ग अझै बन्न सकेको छैन।’

सांसद सिंहले मधेश विस्फोटको स्थिति रहेको भन्दै सरकारलाई चेतावनी दिए। ‘सबैभन्दा बढी मत दिएकाले यो सरकारमाथि मधेशको अधिकार पनि छ, तर मधेश विस्फोटको स्थितिमा छ भनेर सरकारलाई चेतावनी दिन चाहन्छु, म हिजो मात्रै मधेशबाट फर्किएको छु, विस्फोट हुनुअगावै त्यसको उपचार गरौँ,’ सिंहले भने, ‘किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार छ, यस्तो राज्य चल्दैन। राज्य सबैको हो। पहाडको दलितको कुरा भए पनि मधेशकाले कहीँ पनि ठाउँ पाएको छैन। मधेशको दलितले सांसद पनि बन्न पाएका छैनन्। एउटा सरकारमा मन्त्री बन्ने अधिकार छैन?’

मधेशी जनता कर तिर्नमात्रै रहेको भन्दै उनले सुविधाका नाउँमा केही पनि नपाएको जिकिर गरे। सरकारले मधेशमा मेडिकल, इन्जिनियरिङ, कृषि कलेजहरु बनाउन नसकेको उल्लेख गर्दै उनले अहिले पनि योजनामा समावेश नगरिएको बताए।

सांसद सिंहले मधेशमा खानेपानीको हाहाकार अन्त्य गर्न चुरे संरक्षणतर्फ सरकारले जोड दिनुपर्ने उल्लेख गरे।

अहिले देशमा दुईखाले देश रहेको उनले बताए। ‘अहिले देशमा दुईखाले देश छ, एउटा गरिबको गाउँको देश र अर्को धनीको, सहरको,’ सिंहले भने, ‘सुशील कोइरालाको सरकारमा पनि पीएचडी अर्थमन्त्री हुनुहुन्थ्यो, मैले त्योबेला पनि भनेको थिएँ- एडीबी र वर्ल्ड बैंकहरूसँग कुरा गर्न सक्नुहुन्छ, तर गरिबको घरमा एक दिन खाना खाएर हेर्नुस् त।’

उनले विनियोजन विधेयकलाई आफूले स्वीकार गर्न नसक्ने बताए। उनले भने, ‘म यो विनियोजन विधेयकलाई स्वीकार गर्न सक्दिनँ। म सत्ताधारी सांसद हो तर म जनताको अनुहार हेरिरहेको छु।’

सांसद सिंहले विनियोजन विधेयकमा आवासीय विद्यालयको कल्पनासमेत नगरिएकोमा आपत्ति जनाए। उनले भने, ‘संयोगले अर्थमन्त्री बुढानीलण्ठबाट पढेको हुनुहुन्छ तर विधेयकमा एउटा पनि आवासीय विद्यालयको कल्पनासमेत गरिएको छैन। आवासीय विद्यालय, कलेज र विश्वविद्यालय नभइकन देशमा शिक्षाको विकास गर्न सकिँदैन। त्यो  नारामात्र हो, हामी पनि आवासीय विश्वविद्यालयबाट पढेर आएका हौँ।’

उनले लगानीको कुरा भए पनि सरकारले लगानीका लागि वातावरण तयार पार्न नसकेको बताए। सिंहले यतिबेला मुलुक चौतर्फी घेराबन्दीमा परेको जिकिरसमेत गरे। ‘आज हामी चौतर्फी घेराबन्दीमा छौँ, राजनीतिक घेराबन्दीमा छौँ, भूराजनीति अस्तव्यस्त बनेको छ,’ सिंहले भने।

प्रकाशित: ५ जेठ २०८३ १५:०९ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast