काठमाडौँ- मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो।
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन-अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ।
त्यस्तै, सूचकका आधारमा हाललाई २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ।
संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ।
कृषि, वन तथा पर्यवरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताएकी छन्।




