सांसदलाई सभामुखको निर्देशन- संसद्‌मा प्ले कार्ड र पर्चासहित विरोध नगर्नू

हिमाल प्रेस ४ जेठ २०८३ १३:२९ | Monday, May 18, 2026
12
SHARES
सांसदलाई सभामुखको निर्देशन- संसद्‌मा प्ले कार्ड र पर्चासहित विरोध नगर्नू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले संसद्‌मा प्ले कार्ड र पर्चासहित विरोध प्रदर्शन नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए। उनीहरूले सुरुमा सभामुखको आसनअगाडि पुगेर प्ले कार्ड देखाएका थिए भने पछि छातीमा पर्चा टाँसेर बैठकमा सहभागी भएका थिए।

त्यसपछि सभामुख अर्यालले संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले विरोध पनि संसदीय मर्यादाभित्र रहेर गर्नुपर्ने बताए। उनले पर्चा र प्ले कार्ड प्रयोग गरेर विरोध गर्ने शैली नियमावली र संसदीय अभ्यासअनुकूल नभएको भन्दै आगामी दिनमा यस्तो गतिविधि नगर्न निर्देशन दिए।

सभामुखले विरोधका विभिन्न शैली हुन सक्ने भए पनि मर्यादित ढंगले प्रस्तुत हुनुपर्ने बताए। उनले यस्तो गतिविधिलाई असंसदीय अभ्यासको रूपमा समेत टिप्पणी गरेका थिए।

सभामुखको निर्देशनपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बैठकमा बसेका थिए।

यसअघि विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जबाफ प्रधानमन्त्री वालेन्द्र शाहले नै दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जबाफ दिएका थिए।

प्रतिनिधिसभामा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था भए पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा त्यस्तो कार्यक्रम समावेश छैन।

प्रकाशित: ४ जेठ २०८३ १३:२९ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast