डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि एकपटक विनाशको धम्की दिएका छन्। उनी युद्ध अन्त्य गर्ने सम्झौतामा सहमत हुन इरानमाथि दबाब बढाउने प्रयासमा छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘इरानका लागि समय तीव्र गतिमा बितिरहेको छ, र उनीहरूले छिट्टै अगाडि बढ्नु नै राम्रो हुनेछ, अत्यन्त छिटो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन।’
अप्रिलको प्रारम्भमा दुई देशबीच युद्धविराममा सहमति भएको थियो। ट्रम्पले युद्धविराम थप समयका लागि विस्तार गरेका थिए। युद्धविराम भए पनि इरानसँग अहिलेसम्म कुनै स्थायी सम्झौता हुन सकेको छैन।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले युद्धविराम घोषणा हुनुअघि दिएको उनको चेतावनीलाई पुनः स्मरण गराएको छ। त्यतिबेला उनले इरानले सम्झौतामा सहमत नभए सम्पूर्ण सभ्यता समाप्त हुने बताएका थिए। साथै इरानलाई अमेरिकी सर्त स्वीकार गर्न बाध्य पार्न नागरिक पूर्वाधारलाई नै निसाना बनाउने धम्कीसमेत दिएका थिए।
ट्रम्पको पछिल्लो धम्की आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेपछि आएको हो। टाइम्स अफ इजरायलले नेतान्याहुको कार्यालयलाई उद्धृत गर्दै यसको जानकारी दिएको छ।
इरानी सञ्चारमाध्यमहरूले तेहरानले युद्ध अन्त्यका लागि पेस गरेका पछिल्ला प्रस्तावप्रति अमेरिकाले कुनै ठोस सहुलियत नदिएको बताएका छन्। इरानको अर्ध-सरकारी मेहर समाचार एजेन्सीका अनुसार वासिङ्टन सम्झौतामा लचक नभए वार्तामा गतिरोध उत्पन्न हुनेछ। यसै साता ट्रम्पले तेहरानका मागलाई पूर्ण रूपमा अस्वीकार्य बताउँदै युद्धविरामको अवस्था अत्यन्त नाजुक रहेको चेतावनी दिएका थिए।
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने इरानका प्रस्ताव जिम्मेवार र उदार रहेको दाबी गरेका छन्। इरानको अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार तेहरानका प्रस्तावमा सबै मोर्चामा युद्ध तुरुन्त अन्त्य गर्नुपर्ने माग समावेश थियो। यसले लेबनानमा इरान समर्थित हिजबुल्लाहमाथि जारी इजरायली आक्रमणलाई समेत संकेत गरेको बताइएको छ।
त्यस्तै अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने, इरानमाथि पुनः आक्रमण नहुने सुनिश्चित हुनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा होर्मुज जलमार्गमा इरानको सार्वभौमिकता स्वीकार गर्नुपर्ने माग पनि समावेश रहेको जनाइएको छ। इरानको अर्ध-सरकारी फार्स समाचार एजेन्सीका अनुसार अमेरिकाले तेहरानको प्रस्तावको जवाफमा पाँच सर्त राखेको छ।
तीमध्ये इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्नुपर्ने र उच्च स्तरमा प्रशोधित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने मागसमेत रहेको बताइएको छ। ट्रम्पले शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गर्ने प्रस्ताव स्वीकार गर्न सकिने संकेत दिएका थिए। यो विषय दुई देशबीचको प्रमुख विवादको मुद्दा रहँदै आएको छ। यसलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्ने अमेरिकी अडानबाट केही पछि हटेको संकेतका रूपमा हेरिएको छ।
इजरायल र अमेरिकी सेनाले फेब्रुअरी २८ देखि इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए। वार्तालाई सहज बनाउन गरिएको युद्धविराम सामान्यतः कायम रहे पनि बेला-बेलामा गोली हानाहानका घटना भइरहेका छन्। इरानले अझै पनि होर्मुज जलमार्गमाथि नियन्त्रण कायम राखेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ।
अमेरिका र इजरायलको आक्रमणको प्रतिशोधस्वरूप यस्तो कदम चालिएको इरानी पक्षको दाबी छ। द्वन्द्वका कारण विश्वव्यापी रूपमा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
अर्कोतर्फ अमेरिकाले तेहरानलाई आफ्ना सर्त स्वीकार गराउन दबाब सिर्जना गर्न इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। यसबीच पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको भए पनि दुवै पक्ष अझै सहमतिबाट टाढा देखिएका छन्।




