काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका ६१ जना बालबालिकामध्ये १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ।
शुक्रबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता गरेर बालबालिकाका लागि कक्षा १० सम्म नि:शुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो। सम्झौतामा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नवराज ढकाल, विद्यालयका तर्फबाट प्रधानाध्यापक र विद्यार्थीका तर्फबाट अभिभावकले हस्ताक्षर गरेका छन्।
विद्यार्थीको निःशुल्क आवासीय अध्ययनका विषयमा बैठकले विभिन्न ४ प्रस्तावमा निर्णय गरेको छ। सम्झौता अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्वमा आफूहरूले अविचलित रूपमा काम गरिरहेको बताइन्। त्यस क्रममा उपस्थित भएका बालबालिकासँग संवाद गर्दै कार्यवाहक प्रमुख डंगोलले ‘तपाईँहरू भविष्यमा के बन्न चाहनुहुन्छ?’ भन्ने प्रश्न गरिन्।
प्रश्नको जबाफमा बालबालिकाले डाक्टर, सेना, प्रहरी, शिक्षक, फुटबलर, क्रिकेटर, नृत्यकार बन्ने सपना बताएका थिए। राधा स्वामी होल्डिङ् सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको छ। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन्।
प्याब्सन अन्तर्गतका १० वटा विद्यालयसँग सम्झौता गरिएको छ। प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टका अनुसार सम्झौता गरिएका विद्यालयहरू एन्जल हर्ट स्कूल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कूल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेशनल स्कूल पेप्सीकोला, इनोभेटिभ स्कूल शंखमुल, हेम्स स्कूल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कूल जोरपाटी र सुप्रिम इन्टरनेशनल स्कूल चावहिल हुन्।
एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयसँग सम्झौता भएको छ। एनप्याब्सन महानगर समिति अध्यक्ष नवराज पाण्डेका अनुसार प्रोग्रेसिभ सेकेण्डरी स्कूल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेशनल आइडल बोर्डिङ स्कूल मन्डिकाटारसँग सम्झौता भएको हो। यसरी बालबालिकालाई निःशुल्क पढ्ने अवसर प्राप्त गरेकोमा अभिभावकरूले खुसी व्यक्त गरेका छन्।




