कर्णालीको कृषि आधुनिकीकरण र रैथाने बाली प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल

हिमाल प्रेस ३ जेठ २०८३ १०:२२ | Sunday, May 17, 2026
8
SHARES
कर्णालीको कृषि आधुनिकीकरण र रैथाने बाली प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल

काठमाडौँ- कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण विषयमा युवा अभियन्ता आशिष देवकोटा र नेपालस्थित इजरायल राजदूत श्मुलिक एरी बासबीच कुराकानी भएको छ।

शुक्रबार (जेठ १ गते) भएको करिब एक घण्टाको भेटवार्तामा कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बाली तथा जडिबुटीको संरक्षण, प्रशोधन र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटका क्रममा देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो लगायतका रैथाने बाली तथा विभिन्न दालजन्य उत्पादनलाई इजरायलसम्म निर्यात गर्ने सम्भावना खोज्नुपर्ने धारणा राखेका थिए।

उनले यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउजस्ता बहुमूल्य जडिबुटीहरू कच्चा पदार्थकै रूपमा न्यून मूल्यमा भारत र चीनतर्फ निर्यात भइरहेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रविधि, प्राविधिक सहयोग र लगानी आवश्यक रहेको बताएका थिए।

देवकोटाले कर्णालीको कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन यान्त्रीकरण अपरिहार्य रहेको उल्लेख गर्दै नेपालका विश्वविद्यालयहरूमा सञ्चालन हुँदै आएको लर्न एन्ड अर्न कार्यक्रमलाई पुनः प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले विशेषगरी कर्णाली प्रदेशका कृषि विद्यार्थी तथा युवाहरूलाई इजरायलमा अध्ययन र रोजगारीको अवसर उपलब्ध गराउन सके त्यसबाट प्राप्त ज्ञान, सीप र अनुभवले कर्णालीको कृषि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

भेटका क्रममा देवकोटाले नेपाली कागज प्रयोग गरी नेपालमै निर्मित डायरी मायाको चिनोस्वरूप इजरायली राजदूतलाई हस्तान्तरण गरेका थिए।

राजदूतले नेपाल, विशेषगरी कर्णाली प्रदेशको कृषि आधुनिकीकरण तथा यान्त्रीकरणमा इजरायल सरकारले निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहयोगलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले यस वर्ष नेपालबाट २३०० जना कामदार, किसान तथा घरायसी क्षेत्रमा कार्यरत महिलालाई इजरायल लैजाने तयारी रहेको जानकारी दिएका छन्।

देवकोटाको आग्रहमा राजदूतले सन् २०२६ भित्र कर्णाली प्रदेशको रारा ताल लगायतका क्षेत्रको भ्रमण गरी त्यहाँको सम्भावना र अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने इच्छा व्यक्त गरेका छन्।

मुगुका स्थायी बासिन्दा देवकोटा हाल कृषिमा स्नातकोत्तर अध्ययनरत छन्। उनले कर्णाली प्रदेशको कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, खानेपानी, इन्टरनेट तथा विद्युतजस्ता आधारभूत विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

प्रकाशित: ३ जेठ २०८३ १०:२२ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast