काठमाडौँ- बाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय, ललितपुरको साझेदारीमा अपांगता सशक्तिकरण समाज नेपालद्वारा कोन्ज्योसोम गाउँपालिकामा अपांगता अधिकार तथा सेवामा पहुँच सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको हक अधिकार, राज्यबाट प्राप्त हुने सेवा सुविधा तथा सेवामा सहज पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए भने कार्यक्रम संयोजन महासचिव ई.कृष्ण महर्जनले गरेका थिए। सहजीकरण महिला विकास अधिकृत (आठौँ) चन्दा व्यञ्जनकार तथा बौद्धिक अपांगता अभिभावक महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार मुकुन्द दाहालले गरेका थिए। कार्यक्रम सहयोगीका रूपमा सपना तामाङ रहेकी थिइन्।
कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे, पालिकाका विभिन्न तहका कर्मचारी, अपांगता समन्वय समितिका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाले अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सेवासुविधामा पहुँच विस्तार तथा समावेशी समाज निर्माणलाई मुख्य उद्देश्य बनाएर विभिन्न स्थानीय तहसँग समन्वय गर्दै यस्ता कार्यक्रमलाई वार्षिक मुख्य गतिविधिका रूपमा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले अपांगता भएका व्यक्तिहरूलाई राज्यका सेवा तथा अवसरमा समान पहुँच सुनिश्चित गर्न स्थानीय तहको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।




