काठमाडौँ- मित्रराष्ट्र बङ्गलादेशमा विमानस्थल, संसद् भवन र धार्मिक स्थलहरूलाई लक्षित गरी ठूलो आतङ्ककारी हमला गर्ने योजनामा संलग्न रहेको आरोपमा एक पूर्व सैनिक पक्राउ परेका छन्। पक्राउसँगै बङ्गलादेशमा इस्लामिक अतिवादको खतरा अझै सक्रिय रहेको विषय फेरि चर्चामा आएको छ।
बङ्गलादेशको प्रतिआतङ्कवाद प्रहरीले २३ वर्षीय मोहम्मद राहेद हुसेन महेदलाई भारतीय सीमासँग जोडिएको मौलभीबजार जिल्लाको बारलेखा उपजिल्लास्थित शैतघरी क्षेत्रबाट विशेष अपरेसनमार्फत गत महिना पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी भारततर्फ भाग्ने तयारीमा रहेका बेला नियन्त्रणमा लिइएका थिए।
बारलेखा प्रहरी चौकी प्रमुख मोहम्मद मोनिरुज्जमानले महेद बर्खास्त भएका पूर्व सैनिक रहेको जानकारी दिएका छन्। शुक्रबार जारी गरिएको प्रहरी विज्ञप्तिअनुसार उनी प्रतिबन्धित अतिवादी समूह ‘नियो जामा’तुल मुजाहिदिन बङ्गलादेश’ (नियो जेएमबी) को कट्टर विचारधाराबाट प्रभावित थिए। हाल उनीमाथि गहन अनुसन्धान र सोधपुछ भइरहेको छ।
प्रहरीका अनुसार महेदले धारिलो हतियार, बन्दुक तथा विस्फोटक पदार्थ प्रयोग गरेर विमानस्थल, जातीय संसद्, मस्जिद, मन्दिरलगायत संवेदनशील संरचनामा हमला गर्ने योजना बनाएका थिए। अप्रिल अन्त्यतिर सम्भावित सुरक्षा खतरा देखिएपछि बङ्गलादेशका विमानस्थलहरूमा सुरक्षा निगरानी उच्च बनाइएको थियो।
बङ्गलादेश विगत एक दशकदेखि अल-कायदा र इस्लामिक स्टेटबाट प्रेरित घरेलु अतिवादी समूहहरूको निशानामा पर्दै आएको छ। विशेषगरी धर्मनिरपेक्ष लेखक, ब्लगर, विदेशी नागरिक तथा अल्पसंख्यक समुदायमाथि पटक-पटक हमला हुँदै आएका छन्।
सन् २०१६ मा ढाकास्थित होली आर्टिसन बेकरीमा भएको भीषण आतङ्ककारी हमलामा २२ जनाको ज्यान गएको थियो। त्यस घटनाले दक्षिण एशियामा इस्लामिक अतिवादको जालो गहिरिँदै गएको संकेत दिएको थियो। त्यसअघि अल-कायदासँग आबद्ध अतिवादीहरूले धर्मनिरपेक्ष लेखक तथा ब्लगरमाथि श्रृंखलाबद्ध हमला गरेका थिए। ती घटनामा बङ्गलादेशी मूलका अमेरिकी लेखक अभिजित रोयको हत्या अन्तर्राष्ट्रिय रूपमा निकै चर्चित बनेको थियो।
सन् २०२१ मा एक धर्मनिरपेक्ष ब्लगरको हत्या अभियोगमा पाँच जनालाई मृत्युदण्डसमेत सुनाइएको थियो। नयाँ पक्राउ प्रकरणले बङ्गलादेशमा अतिवादी नेटवर्क पूर्ण रूपमा निष्क्रिय नभएको देखाएको छ। सुरक्षा निकायले यस घटनासँग जोडिएका सम्भावित सङ्गठनात्मक सम्बन्ध, आर्थिक स्रोत र अन्तरदेशीय सम्पर्कबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ।




