काठमाडौँ- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकाविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
शनिबार एकअर्काविरुद्ध मैदानमा उत्रिँदा घरेलु टोली नेपाल र अमेरिका पहिलो जितको खोजीमा हुनेछन्। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिनलागेको हो। सिरिजको आफ्नो पहिलो खेलमा अमेरिका पनि स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले नै पराजित भएको थियो।
लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम सिरिज खेलिरहेको नेपाली टोली अंक तालिकामा स्थान सुधारको लक्ष्यमा छ। नेपाल भ्रमणमा रहेका अमेरिका र स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न चाहन्छन्। लिग–२ को शीर्ष ४ मा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्।
अन्य टोलीले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाली टोली शीर्ष ६ मा रहेर सिधै वरीयता जोगाउने लक्ष्यमा छ। त्यसैले घरेलु मैदानको सिरिज नेपाली टोलीका लागि महत्त्वपूर्ण छ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा २ खेलाडी परिवर्तनको सम्भावना छ।




