मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको छिसवाङमा सडक स्तरोन्नति

हिमाल प्रेस २७ वैशाख २०८३ १०:५९ | Sunday, May 10, 2026
18
SHARES
मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी- मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा सडक स्तरोन्नति भएको छ। मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकको बाबियाचौर-दरबाङ खण्डको वैकल्पिक मानिएको पोक-सेराफाँट-पीपलबोट-छिसवाङ-खोप्टी-छ्यारछ्यारे-दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो।

संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य-पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ।

निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताए।

रु दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो। खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ।

२०६७ मा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताए। मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए। सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन्।

यो सडकबाट मंगलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी-दरबाङ सडकको बाबियाचौर-दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ।

यसअघिका दुई आर्थिक वर्षमा मंगला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र संघीय सरकारले हिलवाङ-खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन्। जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ।

हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए। यसअघि संघीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ।

प्रकाशित: २७ वैशाख २०८३ १०:५९ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast