काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैखाले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी हुन्।
‘म हाम्रा सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्,‘चाहे त्यो दुई तिहाइ सरकारको डर किन नहोस्, चाहे त्यो महाअभियोगको डर किन नहोस्।’
मल्लले सबैखाले डर र भयबाट मुक्त भएर अदम्य साहसका साथ अगाडि बढ्न आग्रह गरिन्। उनले लडाइँ अझ बाँकी नै रहेको जिकिर गरिन्।
‘म आफैँ जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ, कानुन व्यवसायी हुँदादेखि नै, लडाइँ अझ बाँकी नै छ,’ मल्लले भनिन्।
सक्षम, शुद्ध र न्यायका लागि प्रतिबद्ध रही काम गर्नुपर्नेमा उनले जोड दिएकी छन्। कामु प्रधानन्यायाधी मल्ले विधिको शासन, संविधानवादलगायतको संरक्षण गर्न अपिल गरिन्।
‘यस गम्भीर एवं कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार तथा न्यायपालिकाको स्वतन्त्रता एवं मर्यादालाई संरक्षण गर्न, आमनागरिक, नेपाल बार एशोसिएसन, नागरिक समाज र आमसञ्चारलाई मेरो अपिल छ,’ उनले भनिन्।
संविधानलाई यथास्थितिमा राखेर संविधानविरूद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने उनको भनाई थियो। मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाने भन्न नसकिने जिकिर गरिन्।



