काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले स्वार्थ बाझिने गरी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन्।
सर्वोच्चको आदेशप्रति रास्वपा सांसदहरुले विरोध जनाएपछि एमालेले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाएको छ।
बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले स्वार्थ बाझिने गरी अदालतको आदेश आएको भन्दै आपत्ति जनाए। उनले अदालतका आफ्ना मर्यादा र सीमा रहने भन्दै अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको आरोप लगाए।
त्यस्तै रास्वपा सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशले नै दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेश कतिको उचित हो भन्दै प्रश्न गरिन्। उनले राजनीति गर्न मन भए कोट खोलेर आउन कामु प्रधानन्यायाधीशलाई सुझाव दिइन्।
यता एमालेका सांसद ऐन महरले भने अदालतमा विचाराधीन विषयलाई सदनमा छलफल गर्न नपाउने व्यवस्था रहेको भन्दै रास्वपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाए।
न्यायाधीश र अदालतको अपमान हुने गरी सदनमा पटकपटक अभिव्यक्ति आइरहेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए। यसअघि कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ सोमबार नै निवेदन दर्ता गरेर मंगलबारका लागि पेसी तोक्न आदेश दिएकी थिइन्।




