शिक्षामन्त्री सस्मित पोखरेल।
काठमाडौँ- शिक्षामन्त्री सस्मित पाेखरेलले विश्वविद्यालयहरूको नेतृत्व चयन प्रक्रिया थप पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन नयाँ कार्यविधि लागू गरिएको बताएका छन्।
मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि विज्ञ समिति गठन गरिने र उक्त समितिबाट आवेदकहरूको मूल्यांकन गरिने बताएका हुन्।
उपकुलपति छनोट प्रक्रिया खुला प्रतिस्पर्धामार्फत अघि बढाइनेछ। उनका अनुसार उच्च शिक्षा सुधारको यो प्रयास नेपालको इतिहासमै पहिलपोटक हो।
नयाँ व्यवस्थाअनुसार सर्टलिस्टमा परेका आवेदकहरूको नाम सार्वजनिक गरिनेछ भने विद्वत् समुदायबाट सुझावसमेत लिइने व्यवस्था गरिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
उनले देश तथा विदेशमा रहेका योग्यता पुगेका प्राज्ञिक व्यक्तित्वहरूलाई यस प्रक्रियालाई राष्ट्रसेवाको अवसरका रूपमा ग्रहण गर्दै सहभागिता जनाउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘देश तथा विदेशमा रहेका योग्यता पुगेका प्राज्ञिक व्यक्तित्वहरूलाई यस प्रक्रियालाई राष्ट्रसेवाको अवसरका रूपमा ग्रहण गरी सहभागिता जनाउन म हार्दिक आव्हान गर्दछु।’
उपकुलपति पदका लागि आवेदन अनलाइनमार्फत दिन सकिनेछ। आवेदन सूचना, आवेदन लिंक तथा कार्यविधिसम्बन्धी विवरण सार्वजनिक गरिएको मन्त्री पोखरेलले बताएका छन्।
उनका अनुसार बाँकी विश्वविद्यालय तथा निकायहरूमा पनि यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडि बढाइनेछ।



