सुकुम्बासी शिविरमा रहेकाहरूको उपचार जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री बानियाँ

हिमाल प्रेस २५ वैशाख २०८३ ६:२४ | Friday, May 8, 2026
8
SHARES
सुकुम्बासी शिविरमा रहेकाहरूको उपचार जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री बानियाँ

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्बासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्बासी सेल्टरमा बिहीबार अनुगमन गरेपछि उनले जनताको स्वास्थ्यप्रति सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री बानियाँसहित स्वास्थ्यमन्त्री किरण थापामगर, पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकासमन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगमन गरेको छ।

सुकुम्बासीसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले भने,‘केन्द्रीय सरकारले छिट्टै तपाईँहरूको स्थायी बसोबासको व्यवस्था गर्नेछ, तपाईँहरू नआत्तिनुहोस्, तपाईँहरूको निःशुल्क स्वास्थ्योपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसका लागि आवश्यक बजेट हामी व्यवस्थापन गर्छौँ।’

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधीहरूको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिँदै सबैलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिए।

उनले भने, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्नेगरी सबै बिरामी र दीर्घरोगीको उपचार गराउनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको व्यवस्थापन हामी गर्छौँ।’

अनुगमनमा पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठनपाठनको व्यवस्था गर्ने बताए।

उनले चाँगुनारायण नगरपालिकासँग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाउने बताए।

स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रूपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिइन्।

कार्यालयकी प्रमुख खड्काले मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्बासीको विभिन्न रोगको अवस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशुल्क औषधी वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराइन्।

उनले सेल्टरमा आँखा नदेख्ने, प्यारालाइसिस, स्ट्रोक, दीर्घरोगीलगायतका धेरै बिरामी रहेको र बीमामा नपर्ने महँगा औषधी खानुपर्ने बिरामीसमेत रहेका जानकारी गराइन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यवस्था, खानेपानको व्यवस्थालगायतका बारेमा जानकारी गराएका थिए।

सरकारले खरिपाटीमा १५८, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरका रूपमा राखेर खाने र बस्ने व्यवस्था गरेको छ।

प्रकाशित: २५ वैशाख २०८३ ६:२४ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast