काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक विशेष समारोहका बीच शेखलाई दर्ज्यानी चिह्न (फुली) द्वारा सुशोभन गरिएको हो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे ।
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको पत्रानुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम ३९ बमोजिम जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट उनलाई ‘विशेष बढुवा’ गरी प्रहरी सहायक हवल्दार बनाइएको हो ।
सोही कार्यक्रमका बीच नेपाल पुलिस क्लबका खेलाडी तथा अफिसियलहरूलाई खेल सामग्री समेत वितरण गरिएको थियो । माया ग्रुप यु।के। र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय बीच सन् २०२६ देखि २०२७ सम्मका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम प्राप्त भएका खेल सामग्रीहरू प्रमुख अतिथि एआईजी शाहले खेलाडीहरूलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
ण्



