राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना, राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिने विश्वास

हिमाल प्रेस १८ वैशाख २०८३ ७:३६ | Friday, May 1, 2026
10
SHARES
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना, राष्ट्रिय एकता थप सुदृढ बनाउन सकिने विश्वास फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन्।

उनले आज बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सो विश्वास लिएका हुन्।

उनले भनेका छन्,‘शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो, शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको छु।’

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ।

यस दिन गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।

वैशाख शुक्ल पक्षको पूर्णिमा तिथिमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा लुम्बिनीमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो।

प्रकाशित: १८ वैशाख २०८३ ७:३६ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast