कास्की- जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ।
मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि जिल्लाभर लागू हुनेगरी ‘अपरेसन ३६५’ सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सोही क्रममा प्रहरीमाथि दुर्व्यवहार गर्ने २९ जनालाई समेत नियन्त्रणमा लिएर अभ्रद व्यवहार कसुरमा कारबाही गरिएको जानकारी दिए।
‘सवारीसाधनको साइलेन्सर परिर्वतन गरी आगोको झिल्का निकाल्ने र चर्को ध्वनि निकालेर समाजमा आतंक सृजना गर्ने गरिएको थियो। यसबारेमा नागरिकबाट प्रहरीलाई व्यापक गुनासो आएपछि हामीले अपरेशन सञ्चालन गरेका हौँ। अहिले यो अवस्था धेरै कम भएको छ’, प्रनाउ बस्नेतले भने।
प्रहरील यस अपरेसनका क्रममा ट्राफिक प्रहरी तथा यातायात कार्यालयमा गरी रु एक करोड ८० लाख राजस्व संकलन गरिएको जनाएको छ। देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मोडिफाइ गरिएका मोटरसाइकलबाट आतंक सृजना भएपछि यो अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।
अहिले अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुवैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउँदै लगेको छ। अवैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकको प्रहरी कार्यालयमा दिन नागरिकलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ।



