काठमाडौँ- वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई प्राथमिकता दिइएको एक्स४७ ले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार एक्स४७ दैनिक आवागमनसँगै लामो तथा रोमाञ्चक यात्रा र एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको हो।
वैद्यज अर्गनाइजेशनले यसअघि नै अल्ट्राभायोलेटका एफ-७७ ओरिजिनल र एफ-७७ रिकन मोडलको नेपाली बजारमा बुकिङ खुलाइसकेको छ। एफ-७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ-७७ रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो।
एफ-७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३२३ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्छ। मोटरसाइकलमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ।
प्रदर्शनका हिसाबले एफ-७७ ले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ। त्यस्तै, ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा मोटरसाइकलको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पोका लागि एफ-७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो मूल्य एक्स्पो अवधिका लागि मात्र लागू हुनेछ र एक्स्पोपछि एफ-७७ को मूल्य बढाइनेछ।
एक्स४७ सार्वजनिक गरेसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरेको छ। नयाँ मोडलमार्फत दैनिक आवागमनदेखि लामो दूरी र एड्भेन्चर राइडिङसम्मका लागि प्रदर्शन, प्रविधि र डिजाइनको संयोजन उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।
तस्बिरहरू



