काठमाडौँ- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले इरानसँगको युद्धमा अमेरिकाले ‘लज्जास्पद हार’ बेहोरेको दाबी गरेका छन्।
बिहीबार ‘पर्सियन खाडी’ दिवसको अवसरमा लिखित सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
गत मार्च ९ मा सर्वोच्च नेता नियुक्त भएयता पहिलोपटक सार्वजनिक सन्देश दिँदै खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीलाई विफल पार्नु इरानको ऐतिहासिक जित भएको उल्लेख गरेका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्,‘यस क्षेत्रमा विशाल सैन्य तैनाथी र आक्रमणको दुई महिनापछि अमेरिकाले लज्जास्पद हार बेहोरेको छ। अब पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ।’
अमेरिकाले यस क्षेत्रमा आफ्नै अड्डाहरूको सुरक्षा गर्ने क्षमता गुमाएको उनको भनाइ छ।
‘अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने त परै जाओस्, आफ्नै अड्डाहरूको सुरक्षा गर्ने क्षमता समेत गुमाएको छ। अब हस्तक्षेपकारीहरूका लागि खाडीको पानीको पिँधबाहेक अन्य कुनै स्थान छैन,’ खामेनीले भनेका छन्।
उनले रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले लागू गरेको नयाँ कानुनी ढाँचा र व्यवस्थापनको प्रशंसा गरेका छन्।
पश्चिम एसिया युद्ध सुरू भएयता इरानले यो जलमार्गमा कडा नियन्त्रण गर्दै निश्चित जहाजलाई मात्र आवतजावतको अनुमति दिएको छ, जसबाट तेहरानले उल्लेख्य राजस्व संकनल गर्न थालेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा तत्कालीन सर्वोच्च नेता (मोजतबाका पिता) को मृत्यु भएपछि उनले नेतृत्व सम्हालेका थिए।




