काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले नीतिगत अस्पष्टताले विद्यार्थी र शिक्षक दुवै मारमा परेको बताएका छन्।
उनले विद्यालय बिदा व्यवस्थापन, शिक्षकको हकहित र अभिभावकको अपेक्षाबीच तालमेल नहुँदा समस्या बढ्दै गएको बताए। भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। उनले भने,‘वैशाखमा विद्यार्थी घर बस। असार साउनमा ‘चिबे रुझाई’ भएर विद्यालय आउ, खोलानाला भेल तरेर विद्यालय आउ भन्नू उचित होइ।’
उनका अनुसार बर्खे बिदा, गर्मी बिदा र जाडो बिदाजस्ता स्थानीय आवश्यकता अनुसारका बिदा नदिइकन आइतबार बिदा मात्र केन्द्रित हुनु व्यवहारिक नभएको तर्क गरे। ‘गाउँतिर हाम्रा बालबच्चा र अभिभावकलाई आइतबारे बिदा होइन बर्खे बिदा, अति गर्मी हुने ठाउँमा गर्मी बिदा र अति जाडो हुने ठाउँमा जाडो बिदा चाहिन्छ भन्ने सोच्नु पर्दैन?’ उनले प्रश्न गरे।
त्यस्तै, आइतबार बिदा दिने विषयमा शिक्षकहरूमै एकरूपता नभएको भन्दै उनले आलोचना गरे। ‘बर्खे बिदा काटेर दसैँ बिदा काटेर आइतबार बिदा दे भनेर शिक्षक संघले बोल्दैन, प्रष्ट छ। आइतबार स्कुल जान पर्दा किन कुँ कुँ?’ उनले टिप्पणी गरे।
भट्टराईले विशेषगरी टाढा क्षेत्रबाट सरुवा भई आएका शिक्षकहरूको समस्यालाई पनि उठाएका छन्। ‘तराईबाट आएर पिछडिएको क्षेत्रबाट बसेका साथीहरूलाई आइतबार बिदा लिएर लामो बिदा कट्टा गर्दा घरपरिवार भेट्न वञ्चित हुन्छन् भन्ने सोच्न पर्दैन?’ उनले भने।
अभिभावकको अपेक्षाप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ छ। ‘अभिभावक आफ्ना छोराछोरी विद्यालय नै पठाउन चाहेको अलि कति पनि हेक्का हुँदैन?’ उनले भने।
निजी विद्यालयहरू हप्ताको ६ दिन सञ्चालन हुँदा सामुदायिक विद्यालयमा समेत दबाब पर्ने विषयलाई पनि उनले उठाएका छन्।
शिक्षक व्यवस्थापनको विषयमा उनले राहत तथा अस्थायी शिक्षकहरूको दीर्घकालीन समाधान आवश्यक रहेको बताए। ‘राहत तथा अस्थायी प्रकृतिका शिक्षकलाई सही व्यवस्थापन गर्ने हो भने पेसाबाट विस्थापित नगरेर खाली हुँदै गएका दरबन्दीलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्दै जानुपर्छ,’ उनले सुझाव दिए।
त्यस्तै,अवकाशपछि सेवा अवधिका आधारमा उपदान उपलब्ध गराउनुपर्ने माग पनि उनले राखेका छन्।




