अस्तित्वको लडाइँमा सालक

केशव राना क्षेत्री १४ फागुन २०८१ १६:५७ | Wednesday, February 26, 2025
6
SHARES
अस्तित्वको लडाइँमा सालक

सालक यस्तो वन्यजन्तु हो, जो खतरा महसुस भए पनि भाग्दैन। बरु भकुन्डोजस्तो मुख बीचमा पारेर गुजुल्टिएर बस्छ। त्यही भएर कसैले कसैले यसलाई ‘डल्ले भूत’ पनि भन्ने गर्छन्। तर अहिले त्यही सालकको अस्तित्वको संकटमा छ।

नेपालमा दुई प्रकारका सालक पाइन्छन्। एउटा तामे सालक जसलाई ‘इन्डियन प्यांगोलिन’ भनिन्छ। अर्को कालो सालक अथवा ‘चाइनिज प्यांगोलिन’। साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका डा. अर्जुन थापा समुद्री सतहबाट २००० मिटरसम्मको उचाइमा सालक पाइने बताउँछन्।

विशेषगरी सालको जंगल, नर्कट झाडी, कृषियोग्य जमिन, घाँसेमैदान, पानीको स्रोत नजिक भएका जंगलमा सालक पाइन्छ। यो जीव मानवीय गतिविधि हुने क्षेत्रमा पनि दुलो बनाएर बस्छ।

जीवविज्ञानअन्तर्गत सालकलाई वर्गीकरण गर्दा ‘अर्डर फोलिडोटा’ मा राखिएको छ। जसको अर्थ खपडा भएको जनावर भन्ने हुन्छ। सालकको साँघुरिँदै गएको लाम्चो शरीर हुन्छ। मुख, पेट र खुट्टामा बाहेक सबैतिर एकआपसमा खप्टिएका खपडा हुन्छन्।

खपडाको भित्रपट्टिको छेउ छालामा टाँसिएको हुँदा बिस्तारै बढ्दै जान्छन्। खपडाको बीचबाट रौँ निस्केका हुन्छन्। सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्छ।

कालो र तामे दुवै प्रजातिका सालक रातमा सक्रिय हुन्छन्। सालक पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी पाइन्छ। यसको मुख्य बासस्थान पूर्वी तथा मध्यनेपालका चुरे पहाड, उत्तरतर्फ भएका सालको वन र आसपासको वन क्षेत्र हुन्।

नेपालका झण्डै ४३ जिल्लामा सालक पाइने अनुमान छ। डा. थापाका अनुसार २२ हजार ३९३ वर्ग किलोमिटरमा सालकको वासस्थान पाइन्छ। त्यसमध्ये जम्मा दुई हजार ९४० वर्ग किलोमिटर मात्रै संरक्षित क्षेत्रमा पर्छ। यसको अर्थ के हो भने सालकको ठूलो संख्या संरक्षित क्षेत्रबाहिर छन्।

राष्ट्रिय निकुञ्ज, आरक्षलगायतका क्षेत्रमा सालक संरक्षणमा खासै समस्या नभए पनि संरक्षित क्षेत्रबाहिर भने निकै समस्या भएको डा. थापा बताउँछन्। ‘संरक्षित क्षेत्रबाहिर सामुदायिक वनले पनि केही काम गरेका छन्,’ उनी भन्छन्, ‘तर विशेष किसिमको योजना बनाएर काम भएको पाइँदैन।’

चोरी सिकारका घटना पनि संरक्षित क्षेत्रबाहिर बढी हुने गरेको छ। थापाका अनुसार सालकका लागि विशेष किसिमको संरक्षित क्षेत्र छुट्याउनुपर्छ। ‘सबै ठाउँमा सम्भव नभए पनि केही ठाउँमा बनाउन सकिन्छ,’ उनी भन्छन्।

सालक संरक्षणमा सबैभन्दा ठूलो चुनौती चोरी सिकार हो। परम्परागत चिनियाँ औषधि बनाउन सालकका खपडा प्रयोग गरिन्छ। साथै विभिन्न सौन्दर्य सामग्री बनाउन पनि प्रयोग हुने गरेको बताइन्छ। सालकको खपडामा यौनवद्र्धक शक्ति हुन्छ भन्ने गलत मान्यता पनि छ।

केही वर्षदेखि मासु र खपडाका लागि सालकको चोरी सिकारमा बढोत्तरी भएको साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका डा. थापा बताउँछन्।

‘यसको संरक्षणमा ठूलो चुनौती भनेकै चोरी सिकार हो। यो औषधि, मासु र ‘गुडलक’का लागि पनि प्रयोग गरिएको पाइन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्यमा यसको खपडा बिक्री हुने विश्वास गरिन्छ। अन्धविश्वासका कारण पनि सालक मारिन्छन्।’

नेपालको बाटो हुँदै विभिन्न नाकाबाट सालकका खपडा तिब्बततर्फ चोरी निकासी हुने गरेको पाइन्छ। संरक्षणविद् कुमार पौडेलले दक्षिण एसियामै सालकको तस्करीको अवस्था भयावह रहेको बताए। ‘यति नै तस्करी हुन्छ भनेर यकिन तथ्यांक छैन, सबै कुरा पत्ता लाग्दैनन्,’ दक्षिण एसियाको सालक संरक्षणमा सक्रिय उनले भने, ‘तर विभिन्न रिपोर्टले सालक संरक्षणमा राम्रो संकेत गरेको छैन, चोरी सिकार बढेको देखिन्छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने, सिकार गर्ने, खपडाको व्यापार गर्ने, ओसारपसार गर्नेलाई एक लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

अर्को चुनौती भनेको यसको वासस्थान व्यवस्थापन हो। मानवीय अतिक्रमणका कारण सालकको वासस्थान खोसिएको छ। सालक बस्ने दुलो मासिएका छन्।

अनुसन्धानकर्मी प्रतिभा कसपालले कालो सालकको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुन सक्ने अवस्था देखिएको बताइन्।

‘नयाँ प्वालको संख्यामा कमी देखिएको छ,’ उनले भनिन्, ‘यसले सालक लोप हुने अवस्थामा छन् भन्ने बुझ्न सकिन्छ।’

बासस्थान अतिक्रमण, जलवायु परिवर्तन, वन क्षेत्रमा पूर्वाधार निर्माण, बालीनालीमा विषादीको प्रयोग पनि सालक संरक्षणका चुनौती हुन्। विषादी खाएर मरेका कीराहरू खाँदा सालकको मृत्यु हुने जोखिम हुन्छ।

अध्ययनको कमी

संरक्षणका लागि अध्ययनअनुसन्धान महत्त्वपूर्ण विषय हो। तर सालकका विषयमा भने पर्याप्त अध्ययन भएको छैन। नेपालमा सालक कति छन् भन्ने कुनै सरकारी निकाय वा सरोकार राख्ने निकायसँग तथ्यांक छैन। यद्यपि संरक्षणकर्मीहरू सन् २०११ मा प्रकाशित एक अध्ययनलाई आधार मानेर देशभर पाँच हजारको संख्यामा सालक रहेको अनुमान गर्छन्। यो संख्या आधिकारिक होइन।

डा. थापाका अनुसार अहिले कति संख्यामा सालक छन् भन्ने यकिन तथ्यांक छैन। उनी भन्छन्, ‘सालकको संख्या भने दिनानुदिन घटिरहेको चाहिँ सत्य हो।’

वन्यजन्तु विभागका सूचना अधिकारी डा. पन्त पनि देशभर कति सालक छन् भन्ने तथ्यांक नभएको बताउँछन्। ‘सानासाना अध्ययन भएका छन् तर विस्तृत रूपमा अध्ययन भएको छैन,’ उनले भने, ‘स्रोत र प्राथमिकता अभाव पनि एउटा कारण हो।’

उपप्रध्यापक चन्द्रमणि अर्याल सालकका विषयमा पर्याप्त अध्ययनअनुसन्धान नभएको बताउँछन्। पाठ्यक्रममै पनि सालकका विषयमा खासै नसमेटिएको उनको भनाइ छ। ‘पाठ्यक्रममा संरक्षित जीवहरूको सूचीमा सालकको पढाइ हुन्छ तर विस्तृत छैन,’ उनले भने। सालकका विषयमा पर्याप्त अध्ययनअनुसन्धान गरेर संरक्षणका काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

संरक्षणकर्मीका अनुसार सालकले एक वर्षमा कम्तीमा सात करोड कीरा खाने गर्छ। सालकको खाना भनेकै धमिरा, कमिलालगायतका कीरा हुन्। सालकले यस्ता कीरा खाइदिएर अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सालकले प्रांगारिक माटो खनेर माटोको उर्वराशक्ति बढाउन मद्दत गर्छ।

सालकले जैविक विविधता र पर्यावरण जोगाउन ठूलो सहयोग गर्ने भए पनि आममानिसलाई यसको महत्त्व बुझाउन कठिन रहेको संरक्षणकर्मीहरू बताउँछन्।

काभ्रेपलाञ्चोक, मकवानपुरलगायत सालक पाइने केही जिल्लामा विद्यार्थी, स्थानीयवासीलाई यसको महत्त्वबारे जानकारी गराउने गरिएको छ। तर यसको प्रभावकारिता बढाउनुपर्ने उपप्रध्यापक अर्याल बताउँछन्।

उनले सालक संरक्षणलाई स्थानीयको जनजीविकासँग जोड्नुपर्ने बताए। ‘पछिल्लो समय सालक संरक्षणमा सरकारी चासो बढेको छ, तर प्रभावकारी छैन,’ उनले भने, ‘सालक संरक्षणलाई स्थानीयवासीको जनजीविकासँग जोड्नुपर्छ।’

सालकको महत्त्वबारे सचेतना फैलाउने, सालक भेटिए प्रहरी चौकी वा वन कार्यालयमा खबर गर्ने, चोरीसिकार हुन लागेको थाहा पाएमा प्रहरीलाई खबर गर्नेलगायतका काम गर्न सकिने उनको भनाइ छ।

संरक्षणविद् पौडेलले सालकलाई पनि ठूला स्तनधारी जनावरलाई जस्तै केन्द्रमा राखेर कार्यक्रम तय गर्नुपर्ने बताए। ‘कानुन कडा बनाइएको छ भइहाल्छ नि भन्ने छ, तर त्यसले मात्रै संरक्षणमा सहयोग पुर्‍याउँदैन,’ उनले भने, ‘सालकको अवस्थाबारे विस्तृतमा जानकारी लिनुपर्छ र त्यसपछि संरक्षण योजना बनाउनुपर्छ।’

प्रकाशित: १४ फागुन २०८१ १६:५७ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast