फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन स्थगित गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद अधिवेशन हालका लागि स्थगित गरेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन रोक्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले बुधबार संघीय संसदको अधिवेशन आह्वान गरेका थिए।
राष्ट्रपति पौडेलबाट अधिवेशन आह्वान भएको एक दिन नबित्दै सरकारले स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख १७ गते बस्ने गरी बुधबार संघीय संसदको दुवै सदन आह्वान गरेका थिए।
‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/१/०८ गतेको सिफारिसमा संवत् २०८३ वैशाख १७ गते बिहीबार दिन २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोमा नेपाल सरकार, मन्त्रिपरिषद् २०८३/०१/१० गतेको सिफारिसबमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संसद अधिवेशन स्थगित निर्णय भए पनि कहिलेसम्मका लागि भनेर विज्ञप्तिमा उल्लेख छैन।
यो अधिवेशनमा प्रि–बजेट, बजेटलगायतका विषयमा छलफल हुने तयारी थियो। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेस गर्नुपर्नेछ।




