अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाडौँमा

हिमाल प्रेस १५ माघ २०७९ २१:०५ | Sunday, January 29, 2023
अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाडौँमा

काठमाडौँ– अमेरिकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार साँझ काठमाडौँ उत्रिएकी छन्। उनी दुईदिने औपचारिक र नियमित भ्रमणका क्रममा नेपाल आएकी हुन्।

उनले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल र उच्च अधिकारीसँग नेपाल-अमेरिका सम्बन्धको विगतको ७५ वर्ष तथा आगामी दिनमा गरिने साझेदारीबारे छलफल गर्ने कार्यतालिका परराष्ट्र मन्त्रालयको छ।

उपमन्त्री नुल्यान्डले सरकारी अधिकारीसँग विशेष वार्ता गर्ने र सम्बन्धलाई ‘वार्म’ राख्न सत्ताको नेतृत्व गरिरहेको राजनीति दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछिन्।

यसरी कुनै मुलुकका उच्च अधिकारी आउँदा हाम्रो नेतृत्वले भेट दिनु र द्विपक्षीय कुराकानी गर्ने प्रथा विगतदेखिकै हो।

नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने र अन्तमा पत्रकारसँग पनि केही बोलेर फर्कने योजना बनाएकी छन्। उनले सोमबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ताको अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। साथै उनले सत्तामा रहेको अन्य दलका नेता र बाहिर रहेका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।  कतिपय भेटवार्ता अझै टुंगो लागिनसकेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अधिकारीहरूले अमेरिकी सरकारको अनुभवी कूटनीतिज्ञलाई नेपालमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको  बताएका छन्। दूतावासले  नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ। दूतावासले भनेको छ, ‘उपमन्त्री नुल्यान्डले सरकारका नेतृत्वकर्तासँग भेट गरी दुई देशबीचको बलियो दौत्य सम्बन्धलाई थप उचाइमा पुर्‍याउन जोड दिनुहुनेछ।’

उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नेछिन्।

नयाँ सरकार बनेपछि नेपालतर्फ हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो। निर्वाचनपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष भएको छ भने अन्य दलहरू मिलेर सरकार बनाएको अवस्था छ।

निर्वाचनमा गरेको गठबन्धन पनि हटेको अवस्था छ। उपमन्त्री नुल्यान्डको  नियमित भ्रमण हो। उनी यही मामिला हेर्ने हुँदा त्यसबारे जानकारी लिन खाफैँ आएकी हुन्।

अमेरिकास्थित नेपाली दूतावासका एक अधिकारी भन्छन्, ‘उहाँ राम्रो कूटनीतिज्ञ हो। ३३ वर्षअमेरिकी परराष्ट्र सेवामा रहेर काम गर्नुभएको उहाँले नेपालसँगको सहकार्य र विकास परियोजनामा जोड दिनुहुनेछ।’

अमेरिकी सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेकी नुल्यानडले चार जना अमेरिकी राष्ट्रपतिसँग काम गरिसकेकी छन्। अमेरिकी विदेश मन्त्रालयको प्रवक्तासमेत रहेर काम गरिसकेकी उनी १८ वर्षअघि नेटोको राजदूत भइसकेकी हन्।

गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले भारत हुँदै नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो।

विदेशीको नियमित भ्रमणबारे किन हुन्छ नेपालमा भ्रामक टिप्पणी?

 

प्रकाशित: १५ माघ २०७९ २१:०५ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast