भक्तपुर- ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब ८० लाखको व्यापार भएको जनाइएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेका बताउँदै करिब रु ८० लाखभन्दा बढीको व्यापार गरी महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
महोत्सवमा एकै छानामुनि दैनिक उपभोग्य सामग्री र विभिन्न सामान पाउने भएपछि १८० वटा स्टल (कक्ष)मा दैनिक उपभोक्ताको घुइाचो लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारबाट हुने सांस्कृतिक कार्यक्रमले राति ९ः०० बजेसम्म हजारौँ दर्शकको अवलोकनका लागि घुइाचो लाग्ने गरेको थियो ।
स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकैथलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रदर्शन गर्दै प्रचार गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको उनले जानकारी दिए ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो ।



