गुल्मीको रेसुंगा विमानस्थलबाट सातामा चार पटक हवाई उडान हुने

हिमाल प्रेस ५ वैशाख २०८३ १४:०५ | Saturday, April 18, 2026
10
SHARES
गुल्मीको रेसुंगा विमानस्थलबाट सातामा चार पटक हवाई उडान हुने

गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्। नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए।

नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुंगाका लागि रु १० हजार ९०२ र रेसुंगाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएकोे उनले जानकारी दिए। निगमले यसअघि काठमाडौँबाट रेसुंगाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो।

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए। उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ।

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ। नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ९रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ।

काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुंगाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए।

दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ। गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन्।

सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो। रासस

प्रकाशित: ५ वैशाख २०८३ १४:०५ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast