काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँकतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताए।
अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो संघर्ष, ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न चेतावनी समेत दिए।
उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको उल्लेख गर्दै जनताको अधिकार थप गर्न र संघीयतालाई बलियो बनाउन सकारात्मक भूमिका र सहयोग हुने स्पष्ट पारे।
त्यस्तै उनले सोचेको भन्दा अलि फरक ढंगले निर्वाचन परिणाम आएकाले पार्टीभित्र गम्भीर रुपमा समीक्षा भइरहेको जानकारी दिए।
उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै जनतामा जाने र संगठनलाई बलियो बनाउनसके आगामी निर्वाचनमा पहिलेको जस्तै नजिता ल्याउन सकिने बताए।




