प्रचारप्रसारको अभावमा अझै ओझेलमा कुर्घा मालीका

हिमाल प्रेस २८ चैत २०८२ ९:०१ | Saturday, April 11, 2026
12
SHARES
प्रचारप्रसारको अभावमा अझै ओझेलमा कुर्घा मालीका

गुल्मी- जिल्लाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको कुर्घा मालीका मन्दिर प्रचारप्रसारको अभावमा अझै पनि ओझेलमा परेको छ। मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घामा रहेको यस मन्दिरको भिन्नै महत्व र विशेषताम रहेको छ। उक्त मन्दिरको मुख्य विशेषता भनेको जोकोही व्यक्तिले पनि वर माग्दा चिच्याएर माग्ने अनौठो परम्परा रहेको छ।

जिल्लाको धार्मिक आस्था केन्द्रको रूपमा रहेको कुर्घा मालीका मन्दिरमा विभिन्न तिथि तथा पर्वमा ठूलो मेला लाग्ने गर्दछ। पछिल्लो समय मन्दिरको पुनःनिर्माणसँगै यहाँ पुग्ने भक्तजन तथा पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको भए पनि यसको महत्वअनुसार प्रचार हुन नसकेको स्थानीयवासीको गुनासो छ।

मन्दिर परिसर वरिपरि देखिने मनमोहक प्राकृतिक दृश्य यहाँको मुख्य आकर्षण मानिन्छ। अझ रोचक पक्ष भनेको मन्दिरमा पूजा–आराधना गरेपछि वर माग्दा चिच्याएर माग्नुपर्ने परम्परा हो। स्थानीयका अनुसार मालीका देवीले कान कम सुन्ने विश्वासका कारण यहाँ वर माग्दा चिच्याउनै पर्ने प्रचलन छ।

यस मन्दिरमा गुल्मी जिल्लाका साथै अर्घाखाँची, बाग्लुङ, प्युठान, बुटवल, काठमाडौँलगायत विभिन्न क्षेत्रबाट श्रद्धालु आउने गर्दछन्। यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वास छ। भाकल पूरा भएपछि पुनः मन्दिरमै आएर बली चढाउने परम्परा रहेको छ।

मन्दिरसँगै जोडिएको चट्टानबाट बाह्रै महिना पानी बगिरहने यहाँको अर्को मुख्य आकर्षणको रूपमा रहेको छ । सोही पानीबाट बनेको सानो कुण्ड र त्यसमा रहेका रंगीविरंगी माछाको दृश्यले पर्यटकलाई थप आकर्षित बनाउँछ । विशेषगरी बैकुण्ठ चतुर्दशी र कार्तिक शुक्ल चतुर्दशीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ।

पौराणिक मान्यताअनुसार करिब पाँच हजार वर्षअघि यस क्षेत्रको उत्पत्ति भएको विश्वास गरिन्छ । यस क्षेत्रमा किम्मु, बर र सिमलका रुखमुनि माल्याश्री ऋषिले तपस्या गरेको किंवदन्ती छ। पानीको अभाव हुँदा देवी मालीका भगवती प्रकट भई जलकुण्ड सृजना गरेर जीवजन्तुको रक्षा गरेको भन्ने जनविश्वास रहिआएको छ। त्यसका अतिरिक्त श्री स्वस्थानी व्रत कथामा पनि यसलाई शक्तिपीठका रूपमा उल्लेख गरिएको पाइन्छ । जसका कारण माघ महिनामा यहाँ बली चढ्दैन।

पर्यटकीय दृष्टिले पनि मालीका क्षेत्र महत्वपूर्ण मानिन्छ । मन्दिर नजिकै सञ्चालनमा रहेको स्वाँरा होमस्टेमा पुगेर आगन्तुकले स्थानीय परिकारको स्वाद लिन सक्ने व्यवस्था छ । मालीका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिका तथा प्रदेश सरकारबाट सडक, खानेपानी तथा मन्दिर पुनःनिर्माणलगायतका क्षेत्रमा सहयोग भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले बताए।

पछिल्लो समयमा मुसिकोट नगरपालिकामा रहेको मालीका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । तर यस मन्दिरको आफैँमा भिन्नै प्रकारको महत्व हुँदाहुँदै पनि प्रचार–प्रशारको हुन नसकेका कारण बत्ती मुनिको अँध्यारो जस्तै बनेको स्थानीय ज्ञानहरी सापकोटाले बताए।

प्रकाशित: २८ चैत २०८२ ९:०१ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast