काठमाडौँ – वैदेशिक रोजागर विभागले भ्रममा पार्ने प्रचार सामग्री हटाउन सरोकारावालालाई निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जाने सेवाग्रहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचारप्रसार सामग्री हटाउन निर्देशन दिएको हो।
विभागले सेवाग्रहीलाई भ्रममा पार्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्र हटाउन सम्बन्धित व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको हो।
सेवाग्रहीलाई भ्रमणमा पार्ने प्रचारप्रसार सामग्री नहटाए कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुनबमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने व्यवस्था रहेको जानकारी गराएको छ।
‘विभागको कार्यालय प्रवेश गर्ने बाटो वरपर तथा अन्य स्थानमासमेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने भन्ने गुनासो तथा जानकारी प्राप्त भएकोमा यस विभागको ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ।




