उपराष्ट्रपति रामसहायप्रसाद यादव
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ राष्ट्रिय सम्मेलनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धनमा रणनीतिक कदम चाल्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
संवैधानिक व्यवस्थाले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनु पर्ने स्पष्ट मार्गदर्शन गरेको भन्दै उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकहरूलाई स्वास्थ्य नीति, कार्यक्रम र कार्यान्वयनमा रूपान्तरण गर्नु संविधानले निर्देश गरेको मूल मर्म भएको धारणा राखे।
स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ।
उपराष्ट्रपति यादवले सम्मेलनमार्फत अनुसन्धानकर्तामा उत्साह र सहकार्यको वातावरण पनि निर्माण गर्दै नेपालको स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउन अनुसन्धान आवश्यक योजना बनाउने विश्वास व्यक्त गरे।
सबैको सामूहिक प्रतिबद्धता र उत्तरदायित्वले मात्र नेपाललाई वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउने उनको भनाइ छ।




