काठमाडौँ- वर्ष २०८२ मा ५६ वटा नेपाली फिल्म प्रदर्शन भए। यीमध्ये अधिकांश फिल्म सामाजिक तथा पारिवारिक कथा, समुदायको संघर्षदेखि एक्सन, रोमान्स, प्रेम, कमेडी जनरामा बनेका थिए। सीमित फिल्म मात्र व्यापारका दृष्टिले सर्वोत्कृष्ट बन्न सफल भएका छन्। केही फिल्मले चर्चाअनुसार व्यापार गर्न सकेनन्।
फिल्म घोषणादेखि चर्चा कमाएका ‘भूठान’, ‘नरसिंहा अवतार’, ‘माग्ने राजा’, ‘कोशेढुङ्गा’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘मन बिनाको धन’, ‘अभिमन्यूः च्याप्टर वान’, ‘झरीपछिको इन्द्रेणी’, ‘एक्लो’, ‘भाइरल गोर्खे’, ‘गोबर गणेश’जस्ता फिल्म व्यापारिक दृष्टिले पछि परेका हुन्। यी सर्वाधिक कमाउनेमा पर्न सकेनन्।
चलचित्र विकास बोर्डले चालू वर्षको वार्षिक समरी-२०८२ सार्वजनिक गरेको छ। विवरणअनुसार सर्वाधिक कमाउने पहिलो फिल्म बन्न सफल भएको छ ‘परान’। फिल्मले साढे १७ करोडमाथिको व्यापार गरेको विवरणमा उल्लेख छ।
यी हुन् यस वर्षका चर्चित पाँच फिल्म
परान : फिल्म ‘परान’ वर्षको सर्वाधिक कमाउने फिल्म बनेको छ। फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४ सय १० रुपैयाँ कलेक्सन गरेको छ।
फिल्मका निर्देशक दीपकप्रसाद आचार्य हुन्। उनले डेब्यु निर्देशनमै सफलताको स्वाद चाखे। फिल्म वर्षकै सर्वाधिक कमाउनेमध्ये पहिलोमा पर्याे। बलियो वर्ड अफ माउथका कारण फिल्मले व्यापार राम्रो गरेको समीक्षकको दाबी छ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, बुद्धि तामाङ, केकी अधिकारी, प्रवीण खतिवडालगायत कलाकारले अभिनय गरेका छन्।
भावनात्मक कथामा आधारित फिल्ममा नीर शाह धर्मनाथ बुबाको भूमिकामा छन्। फिल्म बुबा र छोराबीचको भावनात्मक सम्बन्ध, पारिवारिक विछोड र विदेशिने परम्पराले निम्त्याएको रिक्ततामा आधारित छ।
फिल्मले सन्तानको सामीप्यता खोजिरहेका बुवाको पीडा, गाउँको यथार्थ कथा र अस्ट्रेलिया/अमेरिका जाने सपनाले नेपाली समाजमा पारेको प्रभावलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। फिल्म कात्तिक १४ मा प्रदर्शन भएको थियो।
आ बाट आमा : चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ २०८२ सालमा धेरै कमाउने मध्ये दोस्रो नम्बरमा परेको छ। फिल्मले १३ करोड १३ लाख ६१ हजार ५ सय २० रुपैयाँ कमाएकाे छ।
केही हलमा फिल्म चलिरहेकाे छ। फिल्म माघ १६ गते हलमा प्रदर्शन गरिएको थियो। व्यापारको दृष्टिले यो वर्षको सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ।
फिल्ममा प्रदीप रावत, बिपना थापा, पल शाह, उषा उप्रेती, साइग्रेस पोखरेललगायत कलाकारले अभिनय गरेका छन्। फिल्मको सफलतासँगै निर्माण टिमले सिक्वेल बनाउने घोषणा पनि गरिसकेकाे छ।
फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध र पारिवारिक दायित्वको कथालाई रोचक ढंगले प्रस्तुत गरेको छ। विशेषत: आमाको भूमिका, सन्तानप्रतिको माया र घरको मुख्य अभिभावकको निधनपछि परिवारमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ।
एउटा परिवारको जग कसरी आमामा टिकेको हुन्छ र आमाको अनुपस्थिति वा संघर्षले सन्ताको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने देखाइएको छ। आधुनिक समाजमा सन्तानले आमाबुबाप्रति निर्वाह गर्नुपर्ने कर्तव्य र पारिवारिक मूल्यमान्यतालाई केन्द्रमा राखिएको छ। साथै प्रेम, विछोड र जिम्मेवारीजस्ता सामाजिक सन्देश दिन खोजिएको छ।
जेरी अन टप : यसवर्ष धेरै कमाउनको तेस्रो नम्बरमा ‘जेरी अन टप’ परेको छ। फिल्मले नेपाली बक्स अफिसमा १२ करोड २८ लाख ८४ हजार रुपैयाँ व्यापार गरेर तेस्रो नम्बरमा परेको हो।
यो चर्चित फिल्म ‘जेरी’ को सिक्वेल हो। सुयोग गुरुङको निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म सगरमाथा क्षेत्रको पर्वतारोहण र प्रेम सम्बन्धमा आधारित छ। कथाले प्रेम, मित्रता र सगरमाथा आरोहणका क्रममा आउने चुनौतीहरूलाई चित्रण गरेको छ। हेमराज बिसीको कथा रहेको फिलमको पटकथा विश्वास तिमल्सिनाले लेखेका हुन्।
ऊनको स्वीटर : ‘उनको स्वीटर’ यस वर्ष सर्वाधिक व्यापार गर्ने चौथो फिल्म बनेको छ। फिल्मले बक्स अफिसमा ११ करोड ४१ लाख ९२ हजार १ सय ९५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
नवीन चौहान निर्देशित फिल्ममा विपिन कार्की र मिरुना मगरबीचको प्रेमलाई दर्शकले निकै रुचाए। आर्टमान्डुले निर्माण गरेको फिल्मका निर्देशक नवीन चौहान हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। उनले पहिलो फिचर फिल्म निर्देशनमा सफलता हासिल गरे।
प्रेम कथामा आधारित फिल्ममा एक ब्राह्मण युवक (धरणीधर) र गुरुङ समुदायकी युवती (फूल) बीचको सरल र गहिरो प्रेम देखाइएको छ। फिल्मको कथाले जातीय र सामाजिक भिन्नता, पारिवारिक जिम्मेवारी र परम्परागत बन्धनबीच हुर्किएको प्रेमलाई चित्रण गरिएको छ।
जारी २ः सङ अफ च्याब्रुङ : फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ यसवर्षको सर्वाधिक कमाउने फिल्मको पाँचौं नम्बरमा परेको छ। बोर्डको विवरणअनुसार फिल्मले ६ करोड २४ लाख १७ हजार ४ सय ५३ रुपैयाँ कलेक्सन गरेको छ।
फिल्म लिम्बू संस्कृति र परम्परामा आधारित छ। यो २०८० सालको सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल हो। पहिलो भागजति व्यापार गर्न नसके तापनि फिल्म यस वर्षको सर्वाधिक कमाउनेमध्ये पाँचौंमा परेको छ।
उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्ममा अभिनेता दयाहाङ राई र मिरुना मगरबीचको प्रेम र वैवाहिक जीवनमा आइपर्ने उतारचढावलाई नै निरन्तरता दिएको छ।
पूर्वी नेपालको लिम्बू समुदायमा प्रचलित ‘जारी प्रथा’ र सांस्कृतिक पहिचान समेटिएको छ। दोस्रो भागमा माओवादी जनयुद्धकालीन परिवेश र त्यस समयमा धर्म तथा संस्कृतिमा परेको प्रभावलाई चित्रण गरिएको छ। साथै लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङ केन्द्रित छ।





