एमालेमा सुरू भयो नेतृत्व परिवर्तनको अभियान

किरण पौडेल २२ चैत २०८२ २१:२१ | Sunday, April 5, 2026
70
SHARES
एमालेमा सुरू भयो नेतृत्व परिवर्तनको अभियान

काठमाडौँ- फागुन २१ को आमनिर्वाचनमा कमजोर नतिजा प्राप्त भएपछि नेकपा एमाले संकटमा परेको छ। पार्टीभित्र युवा पंक्तिले नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरेका छन्। यस अभियानले पार्टीको भविष्य र नेतृत्व हस्तान्तरणको दिशामा महत्त्वपूर्ण दबाब सिर्जना गरेको छ।

प्रतिनिधिसभामा तेस्रो दलमा खुम्चिएको एमालेभित्र असन्तुष्टि बढेका छन्। अध्यक्ष केपी शर्मा ओली गिरफ्तार भएपछि नेतृत्वमा उकुसमुक्स छ।

सार्वजनिक रूपमा आलोचना व्यहोरिरहेका बेला एमाले सुधार्न युवा पंक्ति विशेष महाधिवेशनतर्फ ढल्किएका छन्। एमाले इतिहासकै कमजोर अवस्थामा पुगेकाले केन्द्रीय कमिटी र सचिवालयले समीक्षा गरेर मात्र पार नलाग्ने उनीहरूको बुझाइ छ। उनीहरूले विज्ञप्ति सार्वजनिक गर्दै शनिबारदेखि पार्टी कार्यालयमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान थालेका छन्।

‘पार्टीमा अब पुस्तान्तरण हस्तान्तरणको समय आइसकेको छ,’ एमाले निकट अखिलका उपमहासचिव कमल जोशी भन्छन्, ‘अहिले रहेको केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर हुन्न। अब हामी नयाँ तरिकाले अघि बढ्नुपर्छ।’

जोशीका अनुसार अहिले एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको छ। ‘शनिबार पनि ४५० हस्ताक्षर गरायौँ। जिल्लाजिल्लाबाट यो सुरु भएको छ,’  हस्ताक्षरमा सहभागी एक नेता बताउँछन्।

एमाले निर्वाचन र निर्वाचिनपछि पनि संकटमा छ। जेनजी घटना घटाएको आरोपमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। यही अवस्था युवा पंक्ति पुस्तान्तरण भन्दै सडकमा छ।

‘संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम ल्याउनु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ विशेष महाधिवेशनका लागि आह्वान गरिएको निवेदनमा भनिएको छ, ‘राजधानी रहेको काठमाडौँ उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ।’

एमाले अहिले विशेष महाधिवेशन मात्र होइन, रूपान्तरण र हस्तान्तरणका लागि रचनात्मक काम पनि गरिरहेको छ। कसैले धर्ना-पम्पलेट देखाउनेदेखि नेताहरूलाई गुलाफको फूल हस्तान्तरण गर्नेसम्मका काम भइरहेका छन्। युवाले सातदिने कार्यक्रम तय गर्दै यसअघि पम्पलेट बोकेर पार्टीमा उभिने, सचिवालय सदस्यहरूलाई बैठकमै फूल दिने काम गरिसकेका छन्।

एमाले युवा नेता खिलचन्द्र गौतमका अनुसार आइतबार प्रोफाइलमा प्लेटमा रातो लगाउने र अब जिल्ला अध्यक्षहरूलाई ध्यानाकर्षण गर्ने र जिल्ला कमिटीलाई ध्यानाकर्षण गराउनेसम्मका कार्यक्रम तय भएका छन्। ‘हामीले सातदिने कार्यक्रम तय गर्‍यौं। परिवर्तनका लागि निरन्तर खबरदारी गर्नेछौँ,’ गौतम भन्छन्।

सम्भव होला पुस्तान्तरण?

एमालेमा पुस्तान्तरणको मुद्दा माथिल्लो तहभन्दा तल्लो तहमा बढी आएको छ। नेतृत्वले बिदा लिनुपर्ने आवाज बढ्दै गएको छ। तर गएको संसदीय दलको नेता चयनमा धक्का पाएपछि झनै बढी युवा शक्ति असन्तुष्ट छ। संसदीय दलको नेता चयनमा प्रत्यक्ष निर्वाचित सुहाङ नेम्वाङलाई रोक्दै पाका नेता ९समानुपातिक० रामबहादुर थापा ‘बादल’ निर्वाचित बने। यसपछि एमाले फेरि विवादमा पर्‍यो।

‘एमाले सक्किने बाटोमा अघि बढेको’ सार्वजनिक आरोपपछि युवा नेता ताम्सिएका छन्। ‘हामी मात्र होइन। पार्टी नेताहरू पनि पुस्तान्तरणमा लाग्नुभएको छ। कसले नेतृत्व गर्ने भन्नेमा प्रतिस्पर्धा छ,’ एक नेता भन्छन्। ती नेताका अनुसार एकै दिनमा ४५० महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। अब निरन्तर प्रक्रिया चल्नेछ।

एमाले स्रोतका अनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेशकुमार भट्टराईलगायत नेताहरूले खुलेर नेतृत्व परिवर्तनको बहस गरिरहेका छन्। अहिले उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठसमेत नेतृत्व परिवर्तनमा लागेको एक नेता बताउँछन्।

एमाले नेताहरूका अनुसार पार्टी विधान-२०४९ को धारा ७३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।

बहुमत प्रतिनिधि अथवा दुई तिहाइ जिल्ला कमिटीको माग भएमा केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलाउनुपर्ने र नबोलाइए त्यस्तो विशेष महाधिवेशनबाट हुने निर्णय आधिकारिक हुने व्यवस्था एमालेको विधानमा उल्लेख छ।

‘विशेष महाधिवेशन/अधिवेशनले महाधिवेशन/अधिवेशनका लागि यस निर्वाचनका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्नेछ,’ विधानको धारा ७३ (घ) मा लेखिएको छ।

एमालेको ११औँ महाधिवेशनमा २,२६२ महाधिवेशन प्रतिनिधि चुनिएका थिए। यसमध्ये कम्तीमा एक हजार ३१ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर बुझाउनुपर्छ। ‘प्रतिनिधिले आह्वान गरेपछि पार्टीले विशेष महाधिवेशन बोलाउँछ। त्यसैबाट नेतृत्व हस्तान्तरण हुन्छ,’ एमालेका एक पदाधिकारी बताउँछन्।

पार्टी बनाउन विशेष महाधिवेशन पक्षधर सर्त

युवाले विज्ञप्तिमा भनेका छन्, ‘इतिहासको संगीन घडीमा उभिएको यस अवस्थामा न त केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास निकाल्न सक्ने देखिन्छ। एमाले पार्टीमार्फत देश र जनताको हितमा काम गर्न अझ धेरै सशक्त भएर जनताको मन र मस्तिष्कमा बस्नको लागि यस्तै अवस्था सिर्जना हुँदाखेरी उपयोग गर्नकै लागि भनेर एमालेको विधानमा समेत विशेष महाधिवेशन व्यवस्था गरेको छ।’

उनीहरूले वर्तमान नेतृत्वले कुनै पनि हालतमा एमालेलाई फलिफाप नहुने बताएका छन्। यही कारण विशेष महाधिवेशन बोलाउनुपर्ने र खुला मनले सबैले लड्न पाउने वातावरण सिर्जना गर्नुपर्ने माग छ।

‘अप्ठ्यारो समस्यामा यस्ता कामले पार्टीको हित गर्दैन’

एमालेका युवा पंक्ति जुरमुराएका बेला पार्टीले भने ‘हित नहुने’ बताएको छ। ‘यतिबेला अध्यक्षज्यू भित्र हुनुहुन्छ,’ एमाले उपमहासचिव लेखराज भट्टले हिमालप्रेससँग भने, ‘उहाँको धारणा के हो भन्ने पनि बुझ्नुपर्छ। अर्को कुरा, पार्टीभित्र समीक्षा हुनै बाँकी छ। यो बेलामा विशेष महाधिवेशन भन्नु राम्रो होइन।’

भट्टले पार्टी गतिविधिबारे विस्तारै समीक्षा हुँदै जाने र नयाँ रणनीति पनि बनाउने बताए। ‘चुनावको बारेमा पनि हामी समीक्षा गर्दै जान्छौँ। त्यसबेला पार्टीमा कुरा गर्नुपर्छ,’ भट्टले भने।

प्रकाशित: २२ चैत २०८२ २१:२१ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast