एमालेले सच्चायो बादलको अभिव्यक्ति

हिमाल प्रेस २० चैत २०८२ २०:२४ | Friday, April 3, 2026
42
SHARES
एमालेले सच्चायो बादलको अभिव्यक्ति

काठमाडौँ- नेकपा एमालेले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति सच्चाएको छ।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले कार्यवाहक अध्यक्षसमेत रहेका बादलले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै दिएको अभिव्यक्ति सच्चाएको हो।
सचिवालय बैठक बादलकै अध्यक्षतामा बसेको थियो।

‘बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले मुलुकको संविधान र प्रचिलत कानुनबमोजिम निर्माण भएको नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।’

संसदीय दलका नेता बादलले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आपत्ति जनाएका थिए। उनले यो विषयमा शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने उल्लेख गरेका थिए।

त्यस्तै संसदीय दलका नेता चयन गर्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण भएको भन्दै दल नेताको निर्वाचन विधानबमोजिम लोकतान्त्रिक विधिका सम्पन्न भएको एमालेले जनाएको छ।

‘निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट गर्न चाहन्छ।’

संसदीय दलका नेता चयन सम्बन्धमा बैठकले टिकाटिप्पणी नगर्न पार्टीपंक्तिलाई आह्वान गरेको महासचिव पोखरेलले जनाएका छन्।

विद्यार्थी संगठनहरू खारेज गर्न र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गर्दै बैठकले अविलम्ब यो निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।

पार्टीका कार्यकर्ता तथा शुभेच्छुक विशेषगरी महिलाहरूविरूद्ध भइरहेका साइबर आक्रमणको निन्दा गर्दै यसका विरूद्ध कडारूपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन पार्टीपंक्तिलाई बैठकले आह्वान गरेको छ।

त्यस्तै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयलाई पनि एमालेले विरोध गरेको छ। स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने यो निर्णय सरकारलाई तत्काल फिर्ता लिन एमालेले माग माग गरेको छ।

एमाले बैठकले प्रधानमन्त्री नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहलाई बधाई दिएको छ। ‘आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्मानीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै पश्चिम एसियामा जारी हिंसाका कारण २० लाख नेपाली असुरक्षित बनेको भन्दै एमाले बैठकले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेको छ।

प्रकाशित: २० चैत २०८२ २०:२४ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast