संसद्‌मा बादलको अभिव्यक्तिप्रति एमालेभित्रै असन्तुष्टि र प्रतिवाद

हिमाल प्रेस २० चैत २०८२ ८:३६ | Friday, April 3, 2026
18
SHARES
संसद्‌मा बादलको अभिव्यक्तिप्रति एमालेभित्रै असन्तुष्टि र प्रतिवाद

काठमाडौँ- संसद्‌मा नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले व्यक्त गरेको अभिव्यक्तिप्रति पार्टीभित्रै असन्तुष्टि र प्रतिवाद देखिएको छ।

बादलको भनाइलाई लिएर एमालेका नेताहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै पार्टीभित्रै छलफल आवश्यक रहेको बताएका छन्। यसै विषयमा छलफल गर्न एमालेले आज सचिवालय बैठक पनि बोलाएको छ।

एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बादलको अभिव्यक्ति लक्षित टिप्पणी गरेका छन्।

उनले भनेका छन्,‘हिजो संसद्‌मा ‘षड्यन्त्र’ का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो- सबै दोष अरूलाई! हामी पनि दोषी छौं- यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो ‘घेराबन्दी’ मा पर्‍यौं भन्ने ‘राष्ट्रवादी’ राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन्।’

पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम गर्न नहुने बताए। पाण्डेले थप भने, ‘२३-२४ छानबिन हुनुपर्छ- तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि बादलको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले बिहीबार नै सामाजिक सञ्जालमार्फत भनेका थिए,‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा.रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छ।’

पौडेलले यस विषयमा सचिवालय बैठकमा गम्भीर छलफल हुने र उचित निर्णय हुने बताए।

एमालेका अर्का नेता तथा पूर्वसचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्तिप्रति पार्टीको सिद्धान्त र मान्यतासँग जोडेर प्रतिक्रिया दिएका छन्।

उनले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै भनेका छन्, ‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो। जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो।’

उनले थप भनेका छन्,‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ।’

माओवादी पृष्ठभूमिका समानुपातिक सांसद बादलले गत भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा भएको रंगक्रान्ति सफल भएको टिप्पणी गरेका थिए। उनले निर्वाचनको परिणाममा विभिन्न पात्रको भूमिकाको संलग्नताको आरोपसमेत लगाए।

बादलले जादूमय विजयका निर्णायक भूमिकामा नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउन्डेसन रहेको बताएका थिए।

‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्,’ उनको भनाइ थियो।

उनले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाएको समेत बताएका थिए।

बादलले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका थिए।

प्रकाशित: २० चैत २०८२ ८:३६ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast